१९ वर्षीय हल्यान्डको लय : पाँच ह्याट्रिक पूरा, खातामा २६ गोल !

काठमाडौं, कात्तिक २६
अस्ट्रियन फुटबल लिग बुन्डेसलिगा क्लब रेड बुल साल्जबर्गका युवा स्टार फरवार्ड अर्लिङ हल्यान्डले यो सिजनको शानदार लय कायमै राखेका छन् । १९ वर्षका नर्वेजियन यी खेलाडीले घरेलु लिगमा सुरुआतबाटै विष्फोटक प्रदर्शन गर्दै आइरहेका छन् ।

लिगमा गत राति १४औं खेलमा उल्भ्सबर्गलाई उसकै घरमा ०–३ ले हराउनेक्रममा रेड बुलका लागि हल्यान्डले नै रोमाञ्चक ह्याट्रिक गरेका थिए । उनले खेलको चौथो, ७६औं र ८८औं मिनेटमा गोल गर्दै आफ्नो हयाट्रिक पूरा गरेका थिए ।

सो ह्याट्रिकसँगै हल्यान्डले यो सिजन मात्रै सिनियर टोलीबाट क्लब फुटबलमा पाँचौं ह्याट्रिक पूरा गरेका छन् । उनले क्लब रेड बुलका लागि सबैखाले प्रतियोगिता गरेर १८ खेलबाट २६ गोल गरिसकेका छन्, जुन सर्वाधिक बढी हो ।

जारी सिजन हल्यान्डले च्याम्पियन्स लिगमा ४ खेलबाट ७ गोल गरिसकेका छन् । उनी सो प्रतियोगिताको सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले एक ह्याट्रिक च्याम्पियन्स लिगमै गरेका छन् । उनले समूह चरणको पहिलो खेलमै जेन्कविरुद्ध ह्याट्रिक गरेका थिए । सो खेल रेड बुलले आफ्नो घरमा ६–२ ले जितेको थियो ।

हल्यान्डले यो सिजन गरेका पाँच ह्याट्रिकमध्ये चार ह्याट्रिक घरेलु लिगमा गरेका छन् । उनले घरेलु लिगमा हालसम्म १२ खेलबाट १५ गोल गर्दै ४ गोलका लागि असिस्ट गरेका छन् । मात्रै १२ खेलमा उनी सोझै १९ गोलमा सहभागी भएका छन् । च्याम्पियन्स लिगमा उनले ४ खेलबाट ७ गोल गरेका छन् ।

यो सिजन हालसम्म हल्यान्डले क्लबका लागि सबैखाले प्रतियोगिताबाट १८ खेल खेल्दै २६ गोल गरेका छन् । उनले च्याम्पियन्स लिग र घरेलु लिगबाहेक अस्ट्रियन कपमा पनि २ खेलबाट ४ गोल गरेका छन् ।

यता, यो सिजनको अवधिमा उनले नर्वेका लागि पनि शानदार प्रदर्शन गरेका छन् । नर्वेका लागि समेत गरेको गोल जोड्दा उनले यस सिजनको अवधिमा हालसम्म मात्रै २१ खेलबाट ३५ गोल गरेका छन्, जसमा ६ ह्याट्रिक सामेल छन् ।

प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार १०:४२
Loading...