लिभरपुलद्वारा म्यानचेस्टर सिटीको ‘धुलाइ’ : सिटी ९ अंकले पछि !

काठमाडौं, कात्तिक २५
इंग्लिस प्रिमियर लिग फुटबलमा सिजनकै सबैभन्दा ठूलो भिडन्त मानिने लिभरपुल र म्यानचेस्टर सिटीबीचको खेलमा लिभरपुलले प्रभावशाली जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न लिगको १२औं खेलमा लिभरपुलले पाहुना टोली सिटीलाई ३–१ को हारको सिकार बनायो ।

यो सिजनको लिग लिडर लिभरपुलले डिफेन्डिङ च्याम्पियन सिटीलाई आफ्नो घर एनफिल्डमा आतिथ्यता दिएर सिजनको दोस्रो हार मात्रै चखाएन, महत्त्वपूर्ण ३ अंक पनि जोड्यो । अब यो जितसँगै लिभरपुलले सिटीसँग समान १२ खेलपछि स्पष्ट रूपमा ९ अंकको अग्रता बनाएको छ ।

आफ्ना घरेलु दर्शकमाझ सुरुआतबाटै आक्रामक खेल खेलको लिभरपुलका लागि छैटौं मिनेटमै फाविन्होले कडा प्रहारमा गोल गरेर अग्रता दिलाए । बक्स बाहिरबाट हानेको उनको कडा प्रहारले दर्शनीय ढंगले जाली चुमेपछि लिभरपुलले सुरुआतमै खेलमा अग्रता लियो ।

त्यसको ७ मिनेटमै लिभरपुलले अग्रता दोब्बर बनायो । यसपटक मोहमद सालाहले हेडिङमार्फत् गोल गरे । लिभरपुलका खेलाडीले बुनेको द्रुत आक्रमणमा बक्समा उपस्थित मोहमद सालाहले रोर्वटसनको पासमा हेडिङमार्फत् बललाई पोस्टको दिशा दिएपछि खेलमा लिभरपुलले २–० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा पनि घरेलु टोली लिभरपुल सिटीमाथि हाबी भयो । दोस्रो हाफमा उसले थप आक्रामक खेल खेल्यो । सोहीक्रममा खेलको ५१औं मिनेटमा साडियो मानेले हेडिङमार्फत् गोल गरे । हेन्डर्सनको लामो पासमा बक्सभित्र तयार रहेका मानेले सिटीका गोलकिपर क्लाउडिओ ब्राभोलाई सजिलै बिट गर्दै पोस्टको कुना च्यापेर हेडिङमार्फत् बललाई जाली चुमाएपछि खेलमा लिभरपुलले ३–० को फराकिलो अग्रता बनायो ।

त्यसपछि खेलको ७८औं मिनेटमा सिटीका लागि बर्नान्डो सिल्भाले १ गोल गरे । उनले पोस्ट नजिकैबाट कडा प्रहारमा सुन्दर गोल गरेर खेल ३–१ मा झारेका थिए । तर, बाँकी समयमा थप गोल गर्न नसक्दा खेल लिभरपुलले ३–१ ले जित्यो ।

यस खेलमा सिटीले दुईपटक पेनाल्टीका लागि अपिल गरे पनि रेफ्रीले सो अपिल सुनुवाई नगर्दा सिटीका खेलाडी तथा प्रशिक्षक पेप ग्वार्डिओला आक्रोशित बनेका थिए । पहिलो हाफ र दोस्रो हाफमा गरी लिभरपुलका दुई खेलाडीले बक्समा ह्यान्ड बल गरेको देखिए पनि रेफ्रीले त्यहाँ ह्यान्ड बल दिएनन् भने उनले भिएआर पनि प्रयोग गरेनन् । जसका कारण सिटीका खेलाडी र प्रशिक्षक निकै आक्रोशित देखिन्थे ।

अब यो जितपछि लिभरपुलले १२ खेलबाट कूल ३४ अंक बनाएको छ । ऊ हालसम्म अपराजित रहँदै लिगको शीर्ष स्थानमा छ । उसले १२ खेलमा ११ खेल जित्दा एक खेल बराबरी गरेको छ । लिभरपुल दोस्रो स्थानको लेस्टर सिटीभन्दा ८ अंकले अघि छ ।

यता, पराजित म्यानचेस्टर सिटी समान १२ खेलपछि मात्रै २५ अंकसहित चौथो स्थानमा छ । साबिक विजेता सिटी लिग लिडर लिभरपुभन्दा ९ अंकले पछि छ ।

प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार ००:०७
Loading...