पहिलो हाफमा सिटीविरुद्ध लिभरपुललाई २–० को अग्रता !

काठमाडौं, कात्तिक २४
इंग्लिस प्रिमियर लिग फुटबलमा अहिले साबिक विजेता म्यानचेस्टर सिटी र यो सिजनको लिड लिडर लिभरपुल लिगको १२औं खेल खेलिरहेका छन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा जारी खेलको पहिलो हाफमा लिभरपुलले २–० को सहज अग्रता लिएको छ ।

आफ्ना घरेलु दर्शकमाझ सुरुआतबाटै आक्रामक खेल खेलिरहेको लिभरपुलका लागि खेलको छैटौं मिनेटमै फाविन्होले कडा गोल गरेर अग्रता दिलाए । बक्स बाहिरबाट हानेको उनको कडा प्रहारले दर्शनीय ढंगले जाली चुमेपछि लिभरपुलले सुरुआतमै खेलमा अग्रता लियो ।

त्यसको ७ मिनेटमै लिभरपुलले अग्रता दोब्बर बनायो । यसपटक मोहमद सालाहले हेडिङमार्फत् गोल गरे । लिभरपुलको बक्समा सिटीले ह्यान्ड बलमा पेनाल्टी अपिल गरिरहँदा लिभरपुलका खेलाडीले बल अगाडि बढाएर द्रुत आक्रमण बुनेका थिए । जहाँ बक्समा उपस्थित मोहमद सालाहले रोवर्टसनको पासमा हेडिङमार्फत् बललाई पोस्टको दिशा दिएपछि खेलमा लिभरपुलले २–०को अग्रता बनायो ।

लिभरपुलको घरमा दबाबमा खेलिरहेको सिटीले पहिलो हाफमा एक मात्रै सर्ट टार्गेटमा हान्यो । बल भने सिटीले बढी आफ्नो पक्षमा राखेको छ ।

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार २३:०१
Loading...