प्रिमियर लिग : घरेलु मैदान युनाइटेडको जित

काठमाडौं, कात्तिक २४
यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । आइतबार राति भएको लिगको १२औं खेलमा युनाइटेडले ब्राइटनलाई ३–१ ले निराश बनायो ।

आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन आन्द्रेस पेरेरिया र मार्कुस रासफोर्डले गोल गरे भने १ गोल उपहारमा पायो । युनाइटेडका लागि खेलको १७औं मिनेटमा पेरेरियाले गोल गरेका थिए । उनले एन्थोनी मार्सियालको पासमा गोेल गरेका थिए ।

त्यसको २ मिनेटमै ब्राइटनले आफ्नै पोस्टमाग गोल हान्यो । डेभी प्रोपरले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा युनाइटेडले २–० को अग्रता बनायो ।

आफ्नो घरमा पहुना टोलीमाथि पकड जमाएर खेलेको युनाइटेडले ६४औं मिनेटमा गोल खायो । ब्राइटनका लागि लेविस डंकले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

तर, गोल खाएको २ मिनेटमै युनाइटेडका लागि मार्सियालको पासमा रासफोर्डले बक्स भित्रबाट कडा प्रहारमा सहजै गोल गरे । त्यसपछि रासफोर्डले एकपटक गोल गर्ने निकै सहज मौका पाएका थिए । तर, बक्सभित्रबाट उनले हानेका प्रहार अस्वभाविक रूपमा बाहिर गएपछि उनी निकै निराश बनेका थिए ।

रासफोर्डको गोलपछि युनाइटेडले खेलमा लगातार आक्रमण बढायो । उसले पटक–पटक गोलका मौका बनायो । तर, सदुपयोग गर्न नसक्दा ३–१ को जितमा चित्त बुझायो ।

अब यो जितपछि युनाइटेडले १२ खेलबाट १६ अंक जोडेर लिगको सातौं स्थानमा चढेको छ । पराजित ब्राइटन १५ अंकसहित ११औं स्थानमा छ ।

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार २१:४५
Loading...