मेस्सी मैदानमा छन् भने असम्भव केही छैन : भाल्भर्डे

एजेन्सी, कात्तिक २४
स्पेनिस बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले आफ्ना कप्तान लिओनल मेस्सीको तारिफ गरेका छन् । गत राति ला लिगामा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सेल्टा भिगोलाई ४–१ ले हराउनेक्रममा दुई शानदार फ्रि किक गोलसहित ह्याट्रिक गरेका मेस्सीलाई भाल्भर्डेले ‘अद्भुत’ भनेका छन् ।

बार्सिलानोलाई आफ्नो घरमा जिताउन मेस्सीले शानदार प्रदर्शन गर्दै रोमाञ्चक ह्याट्रिक हान्दा बार्सिलोना ला लिगाको शीर्ष स्थानमा पनि फर्कियो । सो खेलपछि मिडियासँग कुरा गर्दै भाल्भर्डेले मेस्सीको तारिफ गरे । भाल्भर्डेले ‘मेस्सी मैदानमा छँदा असम्भव केही नहुने’ भन्दै तारिफ गरे ।

‘आजको खेल र नतिजाबाट म खुसी छु । मेस्सीले आज आफ्नो काम गरे, जुन उनले सधैं गर्ने गर्छन्,’ भाल्भर्डेले भने, ‘जब मेस्सी मैदानमा हुन्छन्, त्यहाँ असम्भव भन्ने केही हुँदैन । यदि तपाईं मेस्सीलाई लिएर खेल्दै हुनुहुन्छ भने उनले विभिन्न तरिकाले समाधान दिन सक्छन् ।’

भाल्भर्डेले सेल्टालाई हराए पनि टिमले अझै थुप्रै कुरामा ध्यान दिनुपर्ने बताए । ‘हामीले आज महत्त्वपूर्ण ३ अंक जित्यौं । हाम्रा लागि यो ज्यादै महत्त्वपूर्ण थियो,’ भाल्भर्डेले भने, ‘तर, हामीले ठूला खेलका लागि अझै धेरै कुरा सुधार गर्नु आवश्यक छ ।’

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार २०:४२
Loading...