‘सर्वाधिक गोलकर्ता’मा लेवान्डोस्की र मेस्सीको कडा प्रतिस्पर्धा : यस्तो छ ताजा अवस्था

काठमाडौं, कात्तिक २४
युरोपियन क्लब फुटबलमा वर्ष २०१९ मा सर्वाधिक गोलकर्ताको दौडमा जर्मन क्लब बार्यन म्युखिखका पोलिस फरवार्ड रोवर्ट लेवाडोस्की सबैभन्दा अगाडि देखिएका छन् । यो सिजन सुरुआतबाट गोलको उत्कृष्ट लयमा देखिएका उनले वर्ष २०१९ मा क्लब स्तरमा बार्यनका लागि कूल ४१ गोल गरिसकेका छन् ।

उनले सिजन २०१९–२० मात्र मात्रै बार्यनका लागि सबैखाले प्रतियोगिताबाट कूल ४१ गोल गरिसकेका छन् । उनले ३९ खेलबाट ४१ गोल गरेका हुन् । उनीपछि स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी दोस्रो स्थानमा छन् । जसले यो सिजन बार्सिलोनाका लागि कूल ४० खेलबाट ३९ गोल गरेका छन् । उनी लेवान्डोस्कीभन्दा २ गोलले टाढा छन् । यहाँ क्लब गोलको मात्रै तथ्यांक छ ।

अन्तर्राष्ट्रिय गोल जोड्दा मेस्सी निकै पछि छन् । वर्ष २०१९ मा लेवान्डोस्कीले पोल्यान्डका लागि अफिसियल प्रतियोगितामा ५ गोल गरेका छन् भने मेस्सीले मात्रै १ गोल गरेका छन् ।

त्यस्तै, तेस्रो नम्बरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका सर्जियो अगुएरो छन् । उनले ३४ गोल गरेका छन् । चौथोमा फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे छन् । उनले सबैखाले प्रतियोतिामा ३२ खेलबाट ३२ नै गोल गरेका छन् ।

पाँचौंमा रियल मड्रिडका करिम बेन्जेमा छन् । उनले ३० गोल गरेका छन् । उनीपछि छैटौंमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन् । उनले वर्ष २०१९ मा युभेन्टसका लागि २४ गोल गरेका छन् ।

यता, जारी सिजनको सर्वाधिक गोलकर्तामा पनि लेवान्डोस्की नै अघि छन् । उनले बार्यनका लागि सबैखाले प्रतियोगितामा १७ खेलबाट २३ गोल गरेका छन् । उनले घरेलु लिग बुन्डेसलिगामा मात्रै ११ खेलबाट १६ गोल गरेका छन् । उनी यस सिजन युरोपियन गोल्डेन बुट दौडमा सबैभन्दा अघि छन् ।

यता, यो सिजन मेस्सीले भने बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट ११ खेलबाट ९ गोल गरेका छन् । उनले ला लिगामा ७ खेलबाट ८ गोल गरेका छन् । रोनाल्डोेले युभेन्टसका लागि सबैखाले प्रतियोगितामा १३ खेलबाट ६ गोल गरेका छन् । उनले घरेलु लिग सिरी ‘ए’ मा ९ खेलबाट ५ गोल गरेका छन् ।

रोनाल्डोले वर्ष २०१९ मा पोर्चुगलका लागि अफिसियल प्रतियोगितामा ८ खेलबाट ११ गोल गरेका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा सर्वाधिक बढी अन्तर्राष्ट्रिय गोल हो । क्लब र देशका लागि गारी रोनाल्डोले यस वर्ष हालसम्म कूल ३५ गोल गरेका छन्, जुन मेस्सीको भन्दा मात्रै ५ गोलले कमी हो ।

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार १७:४५
Loading...