रोनाल्डोले ९ वर्षमा बनाएको ‘ह्याट्रिक रेकर्ड’ मेस्सीले १५ वर्षमा बराबरी गरे

एजेन्सी, कात्तिक २४
स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले ला लिगामा आफ्ना खास प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको नाममा रहेको सर्वाधिक ह्याट्रिक रेकर्डसँग बराबरी गरेका छन् । आइतबार बिहान सेल्टा भिगोलाई ४–१ ले हराउनेक्रममा ह्याट्रिक गरेसँगै मेस्सीले रियल मड्रिडका पूर्वखेलाडी रोनाल्डोले बनाएको सर्वाधिक ह्याट्रिक रेकर्ड बराबरी गरेका हुन् ।

यसअघि ला लिगामा सर्वाधिक ह्याट्रिक रेकर्ड रोनाल्डोको नाममा थियो । उनले ९ वर्ष रियलमा रहँदा कूल ३४ ह्याट्रिक गरेका थिए, जुन सर्वाधिक बढी थियो ।

सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल आएका रोनाल्डोले ९ वर्षमा ला लिगामा ३४ ह्याट्रिक हुन् । उनले ९ वर्षमा बनाएको ३४ ह्याट्रिकको रेकर्ड मेस्सीले १५ वर्षमा बराबरी गरेका हुन् । मेस्सी सन् २००४ बाटै ला लिगा खेलिरहेका छन् भने रोनाल्डो सन् २००९ मा आएर दुई वर्षअघि नै ला लिगा क्लब छाडेर इटाली गइसकेका छन् । यसरी हेर्दा रोनाल्डोलाई ला लिगामा ३४ ह्याट्रिक गर्न ९ वर्ष लाग्यो भने मेस्सीलाई १५ वर्ष । अब ला लिगाको इतिहासमा सर्वाधिक ह्याट्रिक संख्या रोनाल्डो र मेस्सीको नाममा समान ३४–३४ रहनेछ ।

सेल्टाविरुद्ध मेस्सीले दुई फ्रि किक गोलसहित एक पेनाल्टी गोल गरेर ह्याट्रिक गरेका थिए । उनले यो सिजन पहिलो ह्याट्रिक गरेका हुन् । उनले खेलको २३औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए भने पहिलो हाफको इन्जुरी समय र ४८औं मिनेटमा फ्रि किकबाट गोल गरेका थिए ।

खेल अविध र खेल संख्या हेर्दा रोनाल्डोले मेस्सीको भन्दा १७१ कम खेल खेलेर ३४ ह्याट्रिक गरेका थिए । अर्थात्, ३४ ह्याट्रिक गर्न मेस्सीले ४५९ खेल खेल्नुपर्दा रोनाल्डोले मात्रै २८८ खेलमा ३४ ह्याट्रिक गरेका थिए । अवधिका हिसाबले ला लगामा रोनाल्डोले मेस्सीको भन्दा ६ सिजन कम खेलेका छन् ।

ला लिगामा रोनाल्डो भर्सेस मेस्सी (अंकमा हेरौं) :

  • रोनाल्डोको अवधि – सन् २००९–२०१८ सम्म (९ वर्ष)
  • मेस्सीको अवधि – सन् २००४ देखि हालसम्म (१५ वर्ष)
  • रोनाल्डोको ला लिगा खेल संख्या – २८८
  • मेस्सीको ला लिगा खेल संख्या – ४५९
  • रोनाल्डोको ह्याट्रिक – ३४
  • मेस्सीको ह्याट्रिक – ३४
  • रोनाल्डोको कूल ला लिगा गोल – ३११
  • मेस्सीको कूल ला लिगा गोल – ४२७

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार १२:५८
Loading...