प्रिमियर लिग : आज लिभरपुल र म्यानचेस्टर सिटीको ‘महाभिडन्त’ हुँदै

काठमाडौं, कात्तिक २४
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज यो सिजनको सबैभन्दा ठूलो खेल हुँदैछ । जहाँ लिगको १२औं खेलमा साबिक विजेता म्यानचेस्टर सिटी र यो सिजनको लिग लडर लिभरपुलको महाभिडन्त हुँदैछ । लिगका प्रमुख उपाधि दाबेदार टिम सिजनको पहिलो लेगको खेलमा भिड्दा यो सर्वाधिक प्रतीक्षाको खेल हुनेछ ।

यो खेलका लागि लिग लिडर लिभरपुलले सिटीलाई आफ्नो घरेलु मैदान एनफिल्डमा स्वागत गर्दैछ । हाल अंक तालिकामा लिभरपुल ११ खेलपछि २५ अंक बनाएर शीर्ष स्थानमा । ऊ हालसम्म अपराजित छ । उसले ११ खेलमा १० खेलमा सपष्ट जित निकालेर एक खेल बराबरी गरेको छ ।

यता, आज एनफिल्डमा उत्रिन लागेको सिटी भने समान ११ खेलपछि २५ अंक बनाएर लिगको चौथो स्थानमा छ । सिटी लिभरपुलभन्दा स्पष्ट ६ अंकले पछि छ । सिटीले यो सिजन ११ खेलमा मात्रै ८ खेल जितेको छ भने १ खेल बराबरी गरेर २ खेल हारेको छ ।

आज सिटी लिभरपुलको घरमा उत्रिँदा स्पष्ट जितको खोजीमा मात्रै हुनेछैन, उसको दाउ यो सिजनको लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लगाउनु पनि हुनेछ । यदि आज सिटी विजयी भए उसले ३ अंक जोडेर लिग लिडरसँगको अंक दूरी ३ झार्ने छ । तर, यो सिजन उत्कृष्ट लयमा रहेको लिभरपुल उत्तारचढावपूर्ण प्रदर्शन गरिरहेको सिटीलाई हराएर उपाधि यात्रामा एक कदम अघि बढ्ने दाउमा छ ।

आजको खेलमा लिभरपुल र सिटी दुवै टोलीका प्रमुख खेलाडी टोलीमा उपलबध छन् । दुवै टोलीका प्रशिक्षकले यसै खेलमा लागि भनेर अघिल्ला खेलहरूमा केही प्रमुख खेलाडीलाई फिट तथा तयार राख्न कम मात्रै खेलाएका थिए ।

आज हुने खेल नेपाली समयमा :

उल्भ्स भर्सेस एस्टोन भिल्ला – राति ७ः४५ बजे

म्यानचेस्टर युनाइटेड भर्सेस ब्राइटन – राति ७ः४५ बजे

लिभरपुल भर्सेस म्यानचेस्टर सिटी – राति १०ः१५ बजे

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार १२:५६
Loading...