लेवान्डोस्की चम्किँदा डर्टमुन्डमाथि बार्यनको फराकिलो जित

काठमाडौं, कात्तिक २४
जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको ११औं खेलमा बार्यनले आफ्नो घरेलु मैदानमा पाहुना टोली बोरुसिया डर्टमुन्डमाथि ४–० को रवाफिलो जित दर्ता गरेको हो ।

आफ्ना प्रमुख प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेपछिको पहिलो घरेलु लिगको खेलमा बार्यनले फराकिलो जित निकालेको हो । बार्यन यसअघि फ्रान्कफुर्टसँग अवे मैदानमा ५–१ ले हारेपछि भोलिपल्टै बार्यनले प्रशिक्षक कोभाकलाई बर्खास्त गरेको थियो ।

तर, प्रशिक्षक बर्खास्तपछिको खेलमा बार्यनले आफ्नो घरमा निकै राम्रो नतिजा निकाल्यो । उपाधि दाबेदार डर्टमुन्डलाई हराउनेक्रममा बार्यनका लागि रोवर्ट लोवन्डोस्कीले २ गोल गरे । १ गोल सेर्गी गेनाब्रीले गरे भने बार्यनले १ गोल उपहारमा पाएको थियो ।

बार्यनका लागि पहिलो गोल खेलका १७औं मिनेटमा लेवान्डोस्कीले पावार्डको पासमा गरेका थिए । सोही गोलको मदतमा बार्यनले पहिलो हाफमा १–० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा बार्यनले थप आक्रामक खेल खेल्यो । जहाँ दोस्रो हाफ सुरु हुनासाथ गेनाब्रीले बार्यनका लागि दोस्रो गोल हाने । सो गोलमा थोमस मुलरले असिस्ट गरेका थिए ।

बार्यनले खेलको ७६औं मिनेटमा अग्रता तेब्बर बनायो । यसपटक लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । यस गोलमा पनि मुलरले नै असिस्ट गरेका थिए । उनले मुलरको पासमा निकै राम्रो स्वीप गोल गरेका थिए ।

त्यसपछि खेको ८०औं मिनेटमा डर्टमुन्डले आफ्नै पोस्टमा गोल हान्यो । डिफन्डर म्याट्स हुमेल्सले बार्यनका इभान पेरिसिचको प्रहार बक्समा क्लियर गर्नेक्रममा आफ्नै पोस्टमा गोल हानेपछि खेलमा बार्यनले ४–० को अग्रता बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल बार्यनले जित्यो ।

यस खेलमा बार्यनले आफ्नो घरमा डर्टमुन्डमाथि पूर्ण नियन्त्रण राखेर खेलेको थियो । बार्यनले ६० प्रतिशत बल आफ्नो पक्षमा राख्दा उसले डर्टमुन्डको पोस्टमा १८ पटक आक्रामण गरेको थियो । यता, डर्टमुन्डले भने बार्यनको पोस्टमा जम्मा २ प्रहार मात्रै गर्दा दुवै अफ टार्गेटमा थिए ।

अब यो जितसँगै बार्यनले ११ खेलबाट २१ अंक जोडेर लिगको तेस्रो स्थानमा चढेको छ । पराजित डर्टमुन्ड समान खेलबाट १९ अंकसहित पाँचौं स्थानमा झरेको छ ।

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार ०४:२८
Loading...