पिएसजीको जितमा इकार्डी बने नायक

काठमाडौं, कात्तिक २४
यसै सिजन इटालियन क्लब इन्टर मिलानबाट लोनमा अनुबन्ध भएका फरवार्ड माउरो इकार्डीले गोलको उत्कृष्ट लय कायम राख्दा फ्रेन्च क्लब पिएसजीले घरेलु लिग वानमा अर्को जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको १३औं खेलमा पिएसजीले ब्रेस्टलाई १–२ ले निराश बनायो ।

पिएसजीलाई अवे मैदानमा जिताउन २ वटै गोल अर्जेन्टिनी खेलाडी एन्जल डि मारिया र माउरो इकार्डीले गरेका थिए । पिएसजीले खेलको ३९औं मिनेटमा डि मारियाको गोलबाट सुरुआती अग्रता लिएको थियो ।

त्यसपछि खेलको ७२औं मिनेटमा घरेलु टोली ब्रेस्ट खेलमा फर्कियो । उसका लागि सामुएल ग्रान्डसरले गोल गरेर खेल १–१ बनाएका थिए ।

तर, पाहुना टोली पिएसजीले त्यसपछि विजयी गोल हान्यो । ८०औं मिनेटमा इडिसन काभानीको स्थानमा मैदान छिरेका इकार्डीले ८५औं मिनेटमा गोल गरेपछि खेल पिएसजीले १–२ ले जित्यो ।

अब यो जितसँगै पिएसजीले १३ खेलबाट ३० अंक जोडेको छ । पराजित ब्रेस्ट भने १३ खेलबाट १७ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार ०४:२७
Loading...