आर्सनलमाथि सहज जित निकाल्दै लेस्टर दोस्रो स्थानमा

काठमाडौं, कात्तिक २४
इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले बलियो टिम आर्सनलमाथि सहज जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको १२औं खेलमा लेस्टरले पाहुना टोली आर्सनलमाथि २–० को जित निकाल्न सफल भयो ।

आफ्नो घरमा लेस्टरले आर्सनलमाथि सुरुआतबाटै दबाब राखेर खेलेको थियो । निकै प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफमा गोल हुन सकेन । तर, दोस्रो हाफमा ८ मिनेटको बीचमा लेस्टरले २ गोल हान्यो ।

लेस्टरले खेलको ६८औं मिनेटमा जिमी भर्डीको गोलबाट अग्रता लिएको थियो । त्यसको ७ मिनेटमै लेस्टरका लागि जेम्स म्याडिसनले गोल गरेपछि घरेलु टोली खेलमा २–० ले अगाडि रह्यो ।

त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल लेस्टरले २–० ले जित्यो । अब यो जितपछि लेस्टरले १२ खेलबाट २६ अंक जोडेको छ । र, ऊ लिगको दोस्रो स्थानमा पनि चढेको छ । पराजित आर्सनल भने समान खेलबाट १७ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार ०४:२६
Loading...