मेस्सीले ‘चमत्कारिक ह्याट्रिक’ हानेपछि बार्सिलोनाको शानदार जित

काठमाडौं, कात्तिक २४
टोलीका कप्तान लिओनल मेस्सीले दुई दर्शनीय फ्रि किक गोलसहित चमत्कारिक ह्याट्रिक हानेपछि बार्सिलोनाले घरेलु लिग ला लिगामा शानदार जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ ले निराश बनायो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा टिमलाई जिताउन मेस्सीले ह्याट्रिक गरे भने १ गोल सब्सिच्युट खेलाडी सर्जियो बुस्केट्सले गरे । बार्सिलोनाका लागि कप्तान मेस्सीले खेलको २३औं मिनेटमा पेनाल्टी गोलमार्फत् खाता खोलेका थिए । बक्समा सेल्टाका खेलाडीले बल क्लियर गर्नेक्रममा ह्यान्ड बल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टीको मौका दिएका थिए । जसमा मेस्सीले कुनै गल्ती नगरी गोल गरेर टिमलाई १–० को अग्रता दिलाए ।

तर, खेलको ४२औं मिनेटमा सेल्टाले बराबरी गोल फर्कायो । सेल्टाका युवा खेलाडी लुकास ओलाजाले २५ यार्ड दूरीबाट दर्शनीय फ्रि किक प्रहारमा बललाई सोझै जाली चुमाएपछि खेल १–१ आयो । तर, पहिलो हाफको इन्जुरी समयमा मेस्सीले फ्रि किकमार्फत् दर्शनीय गोल गरे । करिब २६ यार्ड दूरीबाट मेस्सीले हानेको प्रहार सेल्टाका गोलकिपर रोक्न सकेनन् । र, पहिलो हाफमा बार्सिलोना २–१ ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा बार्सिलोनाले २ गोल थप्यो भने मेस्सीले ह्याट्रिक पूरा गरे । दोस्रो हाफ सुरु हुनासाथ ४८औं मिनेटमा मेस्सी उस्तै तरिकाले फ्रि किकमा दोस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

त्यसपछि खेलको अन्तिम समयमा सर्जियो बुस्केट्सले गोल गरे । पहिलो हाफको २३औं मिनेटमा चोटग्रस्त बनेर मैदान छाडेका लेन्सन सेमेडोको स्थानमा मैदान छिरेका उनले भली किकमा सुन्दर गोल गरेपछि खेल बार्सिलोनाले ४–१ ले जित्यो ।

यस खेलमा गरेको ह्याट्रिकसँगै मेस्सीले यो सिजन पहिलो ह्याट्रिक गरेका छन् । त्यत्ति मात्रै हैन, उनले ला लिगाको इतिहासमा रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले बनाएको सर्वाधिक ३४ ह्याट्रिकको रेकर्डसँग पनि बराबरी गरेका छन् । रोनाल्डोले रियल मड्रिडमा छँदा ३४ ह्याट्रिक गरेका थिए, जुन सर्वाधिक बढी थियो ।

यो सिजन मेस्सीले ला लिगामा ८ गोल गरेका छन् । उनले ७ खेलबाट ८ गोल गर्दै ४ गोलका लागि असिस्टसमेत गरेका छन् ।

सेल्टालाई हराएसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा पनि चढेको छ । उसले १२ खेलबाट २५ अंक बनाएको छ । समान २५ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ । बार्सिलोनासँग पराजित सेल्टा ९ अंकसहित रेलिगेसन जोनमा छ ।

प्रकाशित मिति २४ कार्तिक २०७६, आईतवार ०३:३६
Loading...