प्रिमियर लिग : म्यानचेस्टर सिटीलाई उछिन्दै चेल्सी दोस्रो स्थानमा उक्लियो

काठमाडौं, कात्तिक २३
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । आज भएको लिगको १२औं खेलमा क्रिस्टल प्यालेसलाई २–० ले हरायो । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलमा चेल्सीलाई जिताउन टमी अब्राहम र क्रिस्टिएन पुलिसिकले १–१ गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफमा चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल हान्यो । चेल्सीका लागि खेलको ५२औं मिनेटमा अब्राहमले पहिलो गोल गरेका थिए । उनले विलियनको पासमा गोल गरेका थिए । त्यसपछि ७९औं मिनेटमा पुलिसिकले गोल गरेपछि खेल चेल्सीले २–० ले जित्यो ।

यो जितपछि चेल्सीले १२ खेलबाट २६ अंक जोडेको छ । र, अन्य टोलीको खेल नहुँदासम्म चेल्सी लिगको दोस्रो स्थानमा चढेको छ । उसले म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा चढेको हो । पराजित क्रिस्टल समान खेलपछि १५ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार २०:१९
Loading...