मेस्सी र ग्रीजम्यान ट्रेनिङमा एकअर्कालाई हेर्दैनन्, बोलचाल गर्दैनन् !

एजेन्सी, कात्तिक २३
स्पेनिस खेल पत्रिका तथा अनलाइन मिडियाले बार्सिलोनाका दुई खेलाडी लिओनल मेस्सी र एन्टोनी ग्रीजम्यानको आपसी सम्बन्धलाई लिएर ताजा रिपोर्टहरू प्रकाशित–प्रशारण गरेका छन् । टोलीका कप्तानसमेत रहेका मेस्सीले गत समरमा क्लबले अनुबन्ध गरेका फ्रेन्च स्टारसँग सामान्य मित्रवत् व्यवहार नदेखाउँदा दुई प्रमुख खेलाडीबीच सम्बन्ध सुमधुर बन्न नसकेको रिपार्टमा उल्लेख गरिएको छ ।

बार्सिलोनाले ग्रीजम्यानलाई लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो । तर, क्याम्प नोउ आइसकेपछि दुई खेलाडीबीच सामान्य सम्बन्ध पनि बन्न नसकेको खबर यसअघि बाटै आइरहेका छन् ।

यो बताइन्छ कि, मेस्सी ग्रीजम्यानलाई बार्सिलोनाले भित्र्याओस् भन्ने पक्षमा थिएनन् । उनी ग्रीजम्यानको साटो पूर्वखेलाडी नेइमारको फिर्ती चाहन्थे । तर, क्लबले उनको इच्छाबिपरीत विश्वकपविजेतालाई भित्र्यायो । क्लबको सो निर्णयबाट मेस्सी सुरुआतदेखि नै व्यवस्थापकसँग रुष्ट रहेको चर्चा थियो । त्यसपछि क्रमशः मैदान र मैदानबाहिर उनीहरूबीचको आपसी सम्बन्धमा मतभेद देखिँदै गयो ।

फ्रेन्च मिडियाले पनि बार्सिलोनाको ड्रेसिङ रुममा मेस्सी र ग्रीजम्यानबीच समस्या रहेको खबर पटक–पटक छाप्दै आएका छन् । हालै मात्र बार्सिलोना निकट मानिने पत्रिका ‘मुन्डो डेपोर्टिभो’ ले पनि मेस्सी ग्रीजम्यानको अनुबन्धबाट बेखुसी रहेको र त्यसले सम्बन्धममा दरार सिर्जना गरेको खबर छापेको छ ।

पछिल्लोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना आफ्नो घरमा स्लभिया प्रहासँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाका समर्थकहरू स्वयं मेस्सीको आलोचनामा उत्रिए । सो खेलमा मेस्सीले ग्रीजम्यानमाथि विश्वास नगरी स्वार्थी भएर खेलेको भन्दै सामाजिक सन्जालहरूमा मेस्सीको विरोध भएको थियो ।

बार्सिलोना सहरबाट छापिने खेल पत्रिका ‘इएल चिरिङ्गुइटो’ले एक रिपोर्ट प्रकाशित गर्दै मेस्सी र ग्रीजम्यान ‘प्रशिक्षणक्रममा आपसमा नबोल्ने र एकअर्कालाई सिधा नजरले सम्म नहेर्ने’ गरेको खबर छापेको छ । सो मिडियाले लगातार तीन दिनको प्रशिक्षण अवलोकन गरी रिपोर्ट सार्वजनिक गरेको उल्लेख गरेको छ ।

प्रशिक्षणक्रममा मेस्सी अधिकांश समय उरुग्वेन खेलाडी लुइस स्वारेज र जेरार्ड पिकेसँग नजिक रहेर प्रशिक्षणमा व्यस्त रहेको बताइएको छ । ‘मार्सा’ ले पनि आफ्नो प्रिन्ट संस्करणमा ग्रीजम्यानसँग मेस्सीको ‘अमैत्रीपूर्ण’ सम्बन्धले सिंगै टिमलाई असर गर्ने चिन्ता व्यक्त गर्दै खबर छापेको छ ।

भाल्भर्डेलाई पनि समस्या

मेस्सी र ग्रीजम्यानको सम्बन्ध बन्न नसक्दा प्रशिक्षक भाल्भर्डेलाई टोली बनाउन समस्या पर्ने गरेको देखिन्छ । मैदानबाहिर र मैदानभित्र दुई खेलाडीले एकअर्कालाई बुझ्न नसक्दा कतिपय खेलमा नतिजामै असर परेको भाल्भर्डेलाई राम्रोसँग थाहा छ । जसका कारण भाल्भर्डेले धेरैजसो खेलमा ग्रीजम्यानलाई बेन्चमा राखेर टोली बनाउँदै आएका छन् ।

खबरमा भनिएको छ– ‘पछिल्ला खेलहरूमा भाल्भर्डेले टोली बनाउँदा ग्रीजम्यानलाई पटक–पटक बेन्चमा राख्नुले यसलाई बल पुर्याएको छ ।’

भाल्भर्डेले सार्वजनिक रूपमा दुई खेलाडीको सम्बन्धलाई लिएर धारणा नराखे पनि मेस्सी र ग्रीजम्यानबीच मित्रता नबन्दा टोली निर्माण गर्नेक्रममा तथा मैदानको रणनीति बनाउनेक्रममा समस्या हुने गरेको बुझ्न सकिन्छ ।

ग्रीजम्यान भन्थे– ‘म जतिबेलै मेस्सीलाई कसरी बल पास दिने भनेर सोचिरहेको हुन्छु’

जतिबेला ग्रीजम्यान बार्सिलोना आइपुगेर प्रशिक्षणमा व्यस्त थिए, त्यत्तिबेला मेस्सी अन्तर्राष्ट्रिय ड्युटीक्रममा चोट बोकेर बिदामा थिए । उनी निकै पछि मात्रै बार्सिलोना फर्किए । आएपछि पनि पहिलो दिन नै चोट बोकेपछि उनी करिब एक महिनासम्म बाहिर रहे ।

सोही बेला ग्रीजम्यानले ‘बार्सा टिभी’सँग कुरा गर्दै मेस्सीसँग सँगै प्रशिक्षण गर्न र खेल्न आफू आतुर रहेको बताएका थिए । त्यत्ति मात्रै हैन, उनले आफूले हरेक दिन कसरी मेस्सीलाई बल पास दिने भनेर सोच्ने गरेको पनि बताएर मेस्सीको तारिफ गरेका थिए । उनले भनेका थिए– ‘साँच्चै ! म लियोसँग भेट्न, कुरा गर्न, सँगै प्रशिक्षण गर्न र खेल्न आतुर छु । म अहिले हरेक दिन उनलाई कसरी बल पास दिने भनेर सोचिहेको हुन्छु । म उनीसँग खेल्न साँच्चै उत्साहित छु ।’

यसो भनेको केही दिनपछि ग्रीजम्यानले फेरि निकै निराशाजनक अन्तर्वार्ता दिएका थिए । त्यसबेला मेस्सी बार्सिलोना फर्किएर खेल्न थालिसकेका थिए । मेस्सी र ग्रीजम्यानले सँगै पहिलो खेल खेलिसकेका थिए । तर, ग्रीजम्यानले मेस्सीले आफूसँग प्रशिक्षण क्याम्पमा नबोल्ने गरेको भन्दै गुनासो गरेका थिए । उनले भनेका थिए– ‘म प्रशिक्षणमा सबैसँग घुलमिल हुन र रमाउन चाहन्छु । तर, लियो मसँग प्रशिक्षणमा बोल्दैनन् । सायद उनी लामो समय टोलीबाहिर भएर पनि हुनसक्छ ।’

ग्रीजम्यानले यसो भनेको केही दिनपछि मेस्सीलाई एक अन्तर्वार्तामा ग्रीजम्यानसँगको सम्बन्धबारे सोधिएको थियो । जसमा मेस्सीले ग्रीजम्यानसँग आफ्नो कुनै समस्या नरहेको भन्दै सतही उत्तर दिएका थिए । उनले भनेका थिए– ‘हैन, हैन । उनीसँग मेरो नराम्रो केही छैन । उनीसँग मैले धेरै समय सँगै बिताएको छैन । उनी मेरा सहकर्मी हुन् ।’

प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार १७:४५
Loading...