मेस्सीद्वारा यी तीनमध्ये एकलाई नयाँ प्रशिक्षक बनाउन क्लबलाई सुझाव

एजेन्सी, कात्तिक २३
स्पेनिस बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको जागिर क्याम्प नोउमा संकटमा छ । अब एक वा दुई हारसँगै उनी बार्सिलोनाको ढोकाबाट बाहिरिने पक्काजस्तै छ । अहिले नै बार्सिलोनाले भाल्भर्डेको बिदाइबारे केही संकेत गरेको छैन । किनभने, क्लब च्याम्पियन्स लिगको आगामी खेलसम्म भाल्भर्डेलाई पर्खिने मुडमा देखिन्छ ।

हाल सो प्रतियोगितामा समूह चरणबाट अन्तिम १६ मा जानै संघर्ष गरिररहेको बार्सिलोनाले नोभेम्बर २८ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग पाँचौं खेल खेल्दैछ । यदि सो खेलमा बार्सिलोनाले जित्न नसके भाल्र्डेको छुट्टी पक्का छ ।

यसैबीच, बार्सिलोनाले भाल्भर्डेले पद छाडे वा बर्खास्त गर्नु परे नयाँ प्रशिक्षक कसलाई बनाउने भन्नेमा तयारी थालेको खबर छ । स्पेनिस मिडियाका खबरअनुसार बार्सिलोनाले अहिले सम्भावित नयाँ प्रशिक्षकको ‘सर्ट लिस्ट’ ३ वटा नाम राखेको छ ।

जसमा अर्जेन्टिनी क्लब रिभर प्लेटका मार्सेलो गालार्डो, नेदरल्यान्ड्सको राष्ट्रिय टोलीका प्रशिक्षक रोनाल्डा कोएमान र डच क्लब आयाक्सका इरिक टेन हग छन् । त्यसमा नेदल्यान्ड्सका प्रशिक्षक कोएमान अहिले आफ्नो टिमलाई सन् २०२० को युरो कपमा च्याम्पियन बनाउने उद्देश्यसाथ टोली सम्हालिरहेका छन् भने गालार्डो रिभर प्लेटमा ठीकठाक अवस्थामा छन् ।

यसैबीच, बार्सिलोनाका कप्तान लिओनल मेस्सीले नयाँ प्रशिक्षक को बनाउने भन्नेमा क्लबका अध्यक्षलाई सुझाव दिएका छन् । ‘डायरियो गोल’मा प्रकाशित खबरअनुसार मेस्सीले आयाक्सका प्रशिक्षक हगलाई बार्सिलोनाको नयाँ प्रशिक्षक बनाउनु उचित हुने भन्दै सुझाव दिएका छन् । बार्सिलोना निकट मानिने ‘मुन्डो डेपोर्टिभो’ले पनि सो खबर छापको छ ।

पछिल्ला वर्ष उत्कृष्ट लयमा देखिएको आयाक्सलाई रणनीतिक खेल खेलाएर चर्चामा रहेका हगको खेलाउने शैली बार्सिलोनासँग मिल्ने हुँदा मेस्सीले उनलाई नयाँ प्रशिक्षक बनाउँदा उचित हुने सल्लाह दिएका छन् । बोर्डका अधिकारीसँग बैठक गरेर मेस्सीले यदि हालका प्रशिक्षकले पद छाडे वा बर्खास्त गरे हगलाई नयाँ प्रशिक्षक बनाउनु उत्तम हुने सुझाव दिएको बताइएको छ ।

प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार १३:५९