बार्सिलोनालाई उछिन्दै रियल सोसिडाड ला लिगाको शीर्ष स्थानमा चढ्यो

काठमाडौं, कात्तिक २३
स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड लिगको शीर्ष स्थानमा चढेको छ । गत राति भएको आफ्नो १३औं खेलमा सोसिडाडले लेगानेससँग १–१ को बराबरी खेल्दै लिगको शीर्ष स्थान ओेगटेको हो ।

आफ्नो घरेलु मैदानमा सोसिडाडले सुरुआती अग्रता लिए पनि जोगाउन सकेन । उसका लागि खेलको ६३औं मिनेटमा मिकेल मिरेनोले गोल गरेका थिए । तर, सोसिडाडको अग्रता धेरैबेर टिकेन ।

खेलको ७८औं मिनेटमा लेगानसले बराबरी गोल फर्कायो । युसुफ नेसेरीले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल १–१ मा टुंगियो ।

लेगानेस खेलको ९७औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । उसका खेलाडी केभिन रोड्रिग्वेज दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेका थिए ।

यो बराबरीपछि सोसिडाडले १३ खेलबाट २३ अंक जोडेको छ । उसले दुई खेल कम खेलेको बार्सिलोनालाई १ अंकले पछि पारेको छ । हाल समान ११–११ खेल खेलेका बार्सिलोना र रियल मड्रिड समान २२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । यता, लेगानेस ६ अंकसहित सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार ०९:०३
Loading...