रेलिगेसन जोनको वाटफोर्डले निकाल्यो सिजनको पहिलो जित

काठमाडौं, कात्तिक २३
इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डले यो सिजन पहिलो जित दर्ता गरेको छ । रेलिगेसन जोनमा रहेको उसले गत राति नर्विच सिटीलाई उसकै घरमा ०–२ ले स्तब्ध बनायो । गत रातिको जित वाटफोर्डका लागि यो सिजनको पहिलो जित थियो ।

यसअघि वाटफोर्डले १२ खेल सकिँदा ५ खेल बराबरी गरेर ६ खेल हारेको थियो । तर, १२ औं खेलमा उसले स्पष्ट जित निकाल्यो ।

वाटफोर्डका लागि खेलको दोस्रो मिनेटमै जेरार्ड डेउलोफेउले गोल गरेका थिए । त्यसपछि ५२औं मिनेटमा आन्द्रे ग्रेले गोल गरे । सो गोलमा डेउलोफेउले नै असिस्ट गरेका थिए । डेउलोफेउकै पासमा आन्द्रे ग्रेले गोल गर्दै वाटफोर्डलाई २–० को अग्रता दिलाए ।

आफ्नो घरमा २ गोलले पछि परेको सिटी ६५औं मिनेटमा १० खेलाडीमा सीमित भयो । क्रिस्टियन कावासेले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल वाटफोर्डले ०–२ ले जित्यो ।

अब यो जितपछि वाटफोर्ड १२ खेलबाट ८ अंक जोडेर लिगको १८औं स्थानमा चढेको छ । पराजित नर्विच ७ अंकसहित सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार ०८:४५
Loading...