मार्टिनेज नपाउने भएपछि बार्सिलोनाको नजर आर्सनलका कप्तानमाथि

एजेन्सी, कात्तिक २२
स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब आर्सनलका स्टार फरवार्ड पियरे इमरिक अउबामेयाङलाई अनुबन्ध गर्न चासो बढाएको छ । स्पेनमा प्रकाशित रिपोर्टअनुसार क्याटलान क्लबले आफ्ना उरुग्वेन फरवार्ड लुइस स्वारेजको प्रतिस्थापनका रूपमा अउबामेयाङलाई अनुबन्ध गर्न चाहेको छ ।

यसअघि बार्सिलोनाले इटालियन इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजलाई प्राथमिकतामा राखे पनि सो क्लबलका अध्यक्षले कुनै पनि मूल्यमा मार्टिनेज नबेच्ने भनेपछि बार्सिलोना अन्य विकल्पमा लागेको हो । जसमा उसले आर्सनलका नयाँ कप्तानलाई दोस्रो रोजाइमा राखेको बताइएको छ ।

आर्सन यो सिजन प्रिमियर लिगको टप–४ मा रहेर अर्को सिजनको युरोपियन च्याम्पियन्स लिगमा छनौट हुन संघर्ष गरिरहेको छ । यदि आर्सनलको सो लक्ष्य पूरा नभए क्लबले उनलाई बेच्न सक्नेछ ।

गाबोन फरवार्ड अउबामेयाङ अहिले आर्सनलमा दोस्रो सिजन बिताइरहेका छन् । उनी सन् २०१८ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट आर्सनलमा अनुबन्ध भएका थिए । उनले आर्सनललाई च्याम्पियन्स लिगमा छनौट गराउन योगदान दिने अपेक्षासहित आर्सनलले उनलाई अनुबन्ध गरे पनि सफल भएको छैन ।

आर्सनलसँग अउबामेयाङले गरेको सम्झौता सकिन लागेकाले बार्सिलोनाले उनीमाथि नजर लगाएको हो । बार्सिलोनाको दाउ अउबामेयाङलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्नु हो । यदि बार्सिलोना र अउबामेयाङबीच दोहोरो सहमति बने सो सम्भावना उच्च रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

तर, इंग्लिस मिडियाले भने आर्सनलले अउबामेयाङका लागि रिलिज क्लज तोकेकाले बार्सिलोनाको फ्रि ट्रान्सफरको योजना पूरा हुन नसक्ने खबर छापेका छन् । अउबामेयाङले जारी सिजन आर्सनलका लागि सबैखाले प्रतियोगिताबाट ११ खेल खेल्दै ९ गोल गरेका छन् । उनलाई केही दिनअघि मात्रै क्लबले नयाँ कप्तान बनाएको थियो ।

प्रकाशित मिति २२ कार्तिक २०७६, शुक्रबार २१:५१
Loading...