स्वारेज बार्सिलोना छाडेर एमएलएस जाने !

एजेन्सी, कात्तिक २२
सन् २०१४ देखि स्पेनिस बार्सिलोनाबाट खेलिरहेका उरुग्वेन फरवार्ड लुइस स्वारेजले निकट भविष्यमै बार्सिलोना छाडेर अमेरिकन लिगमा खेल्न जाने मनस्थिति बनाइरहेको उनका राष्ट्रिय टिमका सहकर्मीले खुलासा गरेका छन् । उरुग्वेको टिमबाट सँगै खेल्ने निकोलास लोडेरियाले आफ्ना सहकर्मीको भविष्यबारे बताएका हुन् ।

निकोलास हाल अमेरिकाको शीर्ष लिग खेल्ने क्लब सिटल साउन्डर्सबाट खेलिरहेका छन् । र, उनको टिमले शनिबार एमएलएस कपको फाइनलमा टोरोन्टो फुटबल क्लबसँग उपाधिका लागि भिड्दैछ । सो खेलअघि एक अन्तर्वार्तामा बोल्दै निकोलासले स्वारेज चाँडै अमेरिकन लिग खेल्न आउने बताए ।

‘मलाई थाहा छ, उनी एमएलएस आउन चाहन्छन्,’ निकोलासले भनेका छन्, ‘उनले मलाई सधैं अमेरिकन लिगबारे सोध्दै आएका छन् । उनलाई यस लिगबारे धेरै कुरा थाहा भइसकेको छ ।’

निकोसाले स्वारेजले कहिले बार्सिलोना छाड्न सक्छन् भन्नेबारे भने आफूले केही भन्न नसक्ने बताए । ‘यो त म भन्न सक्दिनँ । तर, यो उनको टिमको अवस्थामा भर पर्छ होला,’ निकोलासले भने, ‘व्यक्तिगत रूपमा मलाई लाग्छ, उनी २०२० बाटै पनि आउन सक्छन् । वा, त्यसको एक वर्षपछि । बार्सिलोनामा आफूलाई फिट लाग्न छाडेका दिन उनले स्पेन छाड्छन् ।’

निकोलासले स्वारेजजस्ता खेलाडी अमेरिकन लिगमा आउनु खुसीको कुरा भएको बताए । ‘यो टुंगो छैन । तर, यदि उनी यहाँ आए लिगको प्रतिष्ठा र महत्त्व थप बढ्नेछ,’ निकोलासले भने ।

स्वारेजलाई लिजेन्ड इंग्लिस खेलाडी डेभिड ब्याकहमले स्थापना गरेको क्लब इन्टर मियामीमा अनुबन्ध गर्न प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति २२ कार्तिक २०७६, शुक्रबार १९:४५
Loading...