रोनाल्डोको ‘कीर्तिमानी गोल चोरेका’ राम्सेले भावुक हुँदै मागे माफी

एजेन्सी, कात्तिक २२
दुई दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलमा इटालियन युभेन्टसले रसियन क्लब लोकोमोटिभ मोस्कोलाई उसकै घरमा २–१ ले हरायो । सो खेलमा वेल्स स्टार आरोन राम्सेले पोर्चुगिज क्रिस्टियानो रोनाल्डोका नाममा हुन गइरहेको गोल आफ्नो नाममा लेखाएका थिए ।

खेलको तेस्रो मिनेटमा रोनाल्डोले २८ मिटर दूरीबाट हानेको कडा फ्रि किक मोस्कोका गोलकिपरको हातमा लाग्दै टाङमुनिबाट चिप्लिएर पोस्टतर्फ अघि बढ्दै गोल लाइनबाट राम्सेले प्रहार गर्दै जाली चुमाएका थिए । यदि राम्सेले नहानेको भए पनि सो गोल हुने निश्चित थियो । तर, रोनाल्डोको नाममा हुँदै गरेको गोल अन्तिम सेकेन्डमा राम्सेले प्रहार गरेपछि रोनाल्डोको नामबाट गोल खोसियो ।

रोनाल्डोका लागि सो गोल निकै महत्त्वपूर्ण थियो । मोस्कोविरुद्धको सो गोलपछि रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक धेरै ३४ भिन्न–भिन्न क्लबविरुद्ध गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने थिए । तर, राम्सेका कारण रोनाल्डो एक महत्त्वपूर्ण कीर्तिमानबाट चुके । यता, सो गोल रोनाल्डोका नाममा भएको युभेन्टसका लागि उनको पहिलो फ्रि किक गोल पनि हुने थियो ।

राम्सेले मागे माफी

यसैबीच, रोनाल्डोको कीर्तिमानी गोल खोसेका राम्सेले माफी मागेका छन् । उनले आफूले गोल निश्चित गर्न प्रहार गरेको र जानी–जानी रोनाल्डोको गोल नखोसेको बताए । ‘त्यसबेला मलाई लाग्यो, गोलबाट किपर निकै नजिक छन् । र, उनले पछि फर्किएर बल रोक्न सक्छन् । तब मैले टिमको जित र गोल निश्चित गर्न प्रहार गरें,’ राम्सेले भने, ‘तर, मलाई पश्चताप छ । त्यो गोल क्रिस्टियानोकै थियो । मैले उनीसँग क्षमा मागिसकेको छु । उनका लागि त्यो गोल निकै महत्त्वपूर्ण थियो ।’

आफ्नो गोल राम्सेले चोरे पनि रोनाल्डोले असन्तुष्टि वा निराशा भने पोखेनन् । मैदानमा पनि उनले त्यस्तो व्यवहार देखाएनन् । बरु, राम्सेले गोल गरेपछि उनले पनि टिमसँगै सेलिब्रेसन गरेका थिए । उतिबेलै राम्सेलाई अंकमाल गरेर उनले गोलका लागि बधाई दिएका थिए । खेलपछि सो गोलबारे रोनाल्डोले आफूसँग हाँसीमजाक गरेको राम्से आफैंले बताएका छन् । उनले भनेका छन्–

‘खेल सकिएपछि ड्रेसिङ रुममा सो गोलबारे कुरा भयो । उनलाई कुनै गुनासो छैन । उनका लागि त्यो गोल ऐतिहासिक र ठूलो कीर्तिमानको थियो, जुन मलाई खेलअघि थाहा थिएन । पछि मात्रै थाहा पाएँ । अनि मैले आफ्नो तर्फबाट उनलाई सरी भनें । तर, उनले मसँग हाँसीमजाक गरे । खेलक्रममा यस्तो भइरहन्छ भनेर उनले नै मलाई सम्झाए । अन्य सहकर्मीले पनि मजाक गरे । तर, मैले मजाक गर्न सकिनँ । किनभने, मेरा कारणले उनी महत्त्वपूर्ण कीर्तिमानबाट चुके । मेरा लागि यो क्षण सम्झनायोग्य हुनेछ । आज म गर्व अनुभूत गरिरहेको छु कि, क्रिस्टियानोजस्ता महान् खेलाडीसँग सहकर्मी भएर म खेलिरहेको छु ।’

प्रकाशित मिति २२ कार्तिक २०७६, शुक्रबार १९:०८
Loading...