इन्टर र डर्टमुन्ड दुवैसँग हारे पनि बार्सिलोना यसरी जान सक्छ अन्तिम १६ मा

एजेन्सी, कात्तिक २२
स्पेनिस महारथि बार्सिलोना जारी सिजन आफ्नो उत्कृष्ट लयमा छैन । घरेलु लिग ला लिगा र युरोपियन च्याम्पियन्स लिगमा समेत मध्यमस्तरको प्रदर्शन गरिरहेको ऊ पछिल्लो समय कमजोर प्रदर्शनका कारण कठिन अवस्थामा छ । उसका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेसहित केही खेलाडीको पनि आलोचना बढ्दो छ । कप्तान लिओनल मेस्सी स्वयं पनि यतिबेला आलोचनामुक्त छैनन् ।

बार्सिलोना यतिबेला ला लिगाको शीर्ष स्थानमा त छ तर त्यो राम्रो अवस्था होइन । यता, च्याम्पियन्स लिगमा पछिल्लोपटक आफ्नो घरेलु मैदानमा समूह चरणको चौथो खेल चेक क्लब स्लाभिया प्रहासँग गोलरहित बराबरी खेलेपछि बार्सिलोनालाई युरोपको सबैभन्दा ठूलो प्रतियोगिताको नकआउट चरण जाने बाटो नै कठिन बनेको छ ।

जबकि, बार्सिलोना यो सिजन च्याम्पियन्स लिगसहित तीनवटै उपाधि जित्ने दौडमा छ । तर, च्याम्पिन्स लिगमा ४ खेलमा दुई जित र दुई बराबरी तथा कमजोर प्रदर्शनले बार्सिलोनाको उपाधि दाबेदारीमा थुप्रै प्रश्नहरू उठेका छन् । यद्यपि, बार्सिलोना अझै पनि च्याम्पियन्स लिगमा समूह ‘एफ’ मा ८ अंकसहित शीर्ष स्थानमा छँदैछ ।

गत मंगलबार क्याम्प नोउमा स्लाभियासँग अंक बाँडेपछि बार्सिलोनाका लागि च्याम्पियन्स लिगको अन्तिम १६ मा जाने बाटो केही कठिन बनेको छ । सो खेलपछि बार्सिलोना समूह चरणबाटै बाहिरिने हो कि भन्ने डर कतिपयलाई छ । बार्सिलोनामाथि अबका बाँकी दुई खेलमा ठूलो दबाब हुनेछ ।

समूह चरणमा अब मात्रै दुई खेल बाँकी छन् । जसमा बार्सिलोनाले नोभेम्बर २८ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग आफ्नो घरमा पाँचौं खेल खेल्नेछ । यसअघि अवे मैदानमा भएको डर्टमुन्डसँगको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसपछि अन्तिम खेल बार्सिलोनाले डिसेम्बर १२ मा अवे मैदानमा इटालियन इन्टर मिलानसँग खेल्नेछ । यसअघि बार्सिलोनाले इन्टरलाई आफ्नो घरमा २–१ ले हराएको थियो ।

बार्सिलोनालाई १ अंक आवश्यक

बार्सिलोनालाई अर्को चरण जान अब कम्तीमा १ अंक आवश्यक छ । त्यसका लागि बार्सिलोनाले नहारी दुईमध्ये एक खेल बराबरी गर्नुपर्छ । बार्सिलोनाले पाँचौं खेलमा डर्टमुन्डसँग बराबरी मात्रै खेले पनि अर्को चरण जानेछ । यदि डर्टमुन्डसँग हारेर अन्तिम खेलमा इन्टरसँग बराबरी खेले पनि बार्सिलोना ९ अंकसहित उपविजेता बनेर अन्तिम १६ मा जानेछ ।

दुवै खेल हारे के हुन्छ ?

बार्सिलानाले अब खेल्न बाँकी दुवै खेल निकै कठिन हुनेछन् । त्यसै पनि बार्सिलोना राम्रो लयमा नरहेका बेला अन्य टिमले बार्सिलोनालाई हराउन सक्ने अनुमान स्वभाविक छ । यदि बार्सिलोना अबका दुवै खेलमा पराजित भयो भने च्याम्पियन्स लिगको समूह चरणबाटै आउट हुन्छ ? होइन, हुँदैन ।

यदि बार्सिलोना दुवै खेल हारे अर्को चरण जाने एक मात्रै बाटो छ, जुन ज्यादै अप्ठेरो र कमजोर बाटो हो । त्यसका लागि बार्सिलोनालाई भाग्यले साथ दिनुपर्छ । अर्थात्, बार्सिलोना पूर्ण रूपमा अन्य टोलीको नतिजामा भर पर्नुपर्छ ।

सबैभन्दा पहिला इन्टर मिलान पाँचौं खेल खेल्न चेक क्लब स्लाभियाको घर जाँदा कस्तो नतिजा निकाल्छ भन्ने हो । यदि इन्टर सो खेलमा पराजित भए यो बार्सिलोनाका लागि अप्ठेरो मध्येको सबैभन्दा सजिलो हो । स्लाभियासँग मिलान हार्नसाथ बार्सिलोना जसरी पनि अन्तिम १६ मा जान्छ ।

तर, यदि इन्टरले स्लाभियासँग नहारी बराबरीको नतिजा मात्रै निकाल्यो भने उसले बार्सिलोनाँग अंक बराबरी गर्नेछ । त्यो बेला युइएफको नियमअनुसार ‘हेड टु हेड’ नतिजालाई आधार मानिन्छ । र, त्यो बेला भने बार्सिलोनाले इन्टरलाई पछि पार्दै अर्को चरण जान्छ ।

स्मरण रहोस्, बार्सिलोनाले यससअघि आफ्नो घरमा इन्टरलाई २–१ ले हराएको छ । र, ‘हेड टु हेड’मा बार्सिलोना अघि रहन्छ । तर, त्यसका लागि प्रमुख सर्त भनेको, जब बार्सिलोना अन्तिम खेल खेल्न मिलानको घरमा पुग्छ, सो खेलमा बार्सिलोना १–० भन्दा फराकिलो अन्तरमा हार्नु हुँदैन ।

यदि मिलानले आफ्नो घरमा बार्सिलोनालई १–० ले मात्रै हराए दुवैको अंक बराबरी ८–८ हुन्छ । र, बार्सिलोना ‘हेड टु’ हेडमा अघि रहेर अर्को चरण जान्छ ।

प्रकाशित मिति २२ कार्तिक २०७६, शुक्रबार १५:३९
Loading...