२–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराग्वेसँग स्तब्ध : बाहिरियो विश्वकपबाट

काठमाडौं, कात्तिक २१
ब्राजिलमा जारी फिफा यु–१७ विश्वकप फुटबलमा अर्जेन्टिना अन्तिम १६ मा पराजित हुँदै प्रतियोगिताबाटै आउट भएको छ । गत राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई पराग्वेले ३–२ ले हराउँदै क्वार्टरफाइनल पुग्दा अर्जेन्टिना प्रतियोगिताबाटै आउट भयो ।

खेलको इन्जुरी समयमा १० खेलाडीमा सीमित भएको अर्जेन्टिनाले खेलमा ०–२ को अग्रता लिएर पनि जोगाउन नसक्दा विश्व च्याम्पियन बन्ने सपनामा पानी पोखियो । अर्जेन्टिनाका लागि खेलको २७औं मिनेटमा एक्सक्वेल जेबालोसले पहिलो गोल गरेका थिए ।

त्यसपछि खेलको ४२औं मिनेटमा माटिस गोडोएले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिनाले ०–२ को अग्रता बनायो । तर, दोस्रो हाफमा पराग्वे खेलमा फर्कियो । ५८औं मिनेटमा अर्जेन्टिनाका लौटारो कानोले आफ्नै पोस्टमा गोल गरेपछि पराग्वेलाई राहत मिलेको थियो ।

त्यसपछि खेलको ७३औं मिनेटमा डिएगो जोएल टोरेजले गोल गरेपछि पराग्वेले खेल २–२ को बराबरीमा ल्यायो । त्यसपछि दुवै टिम विजयी गोलको खोजीमा रहेका बेला ८६औं मिनेटमा पराग्वे भाग्यमानी बन्यो । उसका लागि डिएगो अरिएल डाउर्टेले गोल गरेर पराग्वेलाई ३–२ को अग्रता दिलाए । बाँकी समय र ७ मिनेटको इन्जुरी समयमा अर्जेन्टिनाले गोल गर्न नसकेपछि खेल पराग्वेले ३–२ ले जित्यो ।

यससँगै प्रतियोगितामा अन्तिम १६ का सबै खेल सकिएर अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुंगो लागेको छ । यस्तो छ अन्तिम आठको ड्र :

  • नेदरल्यान्ड्स भर्सेस पराग्वे
  • साउथ कोरिया भर्सेस मेक्सिको
  • स्पेन भर्सेस फ्रान्स
  • इटाली भर्सेस ब्राजिल

अब क्वार्टरफाइनलका खेलहरू ३ दिनपछि बाट सुरु हुनेछन् । सेमिफाइनलका खेलका नोभेम्बर १४ मा हुने तालिका छ भने फाइनल खेल नोभेम्बर १७ मा हुनेछ ।

प्रकाशित मिति २२ कार्तिक २०७६, शुक्रबार ०८:४६
Loading...