युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

काठमाडौं, कात्तिक २२
युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेटर युनाइटेडले प्रभावशाली जित दर्ता गरेको छ । गत राति भएको समूह चरणको चौथो खेलमा युनाइटेडले पार्टिजानमाथि ३–० को जित निकालेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन ३ जना फरक–फरक खेलाडीले गोल गरे । युनाइटेडका लागि पहिलो गोल खेलको २१औं मिनेटमा मासोन ग्रीनउडले गोल गरे । त्यसपछि खेलको ३३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

त्यसपछि युनाइटेडले दोस्रो हाफमा पनि गोल हान्यो । खेलको ४९औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि खेलमा युनाइटेडले ३–० को अग्रता बनायो । त्यसपछि बाँकी समयभरि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल युनाइटेडले ३–० ले जित्यो ।

यो जितसँगै युनाइटेडले ४ खेलबाट १० अंक जोडेर समूह ‘एल’को शीर्ष स्थानमा छ । पराजित पार्टिजान ४ अंकसहित तेस्रो स्थानमा छ ।

गत राति नै भएका अन्य खेलहरूमा सेभिल्लाले डुडेलेङ्गलाई २–५ ले हराउँदा बासेलले गेटाफेलाई २–१ ले हरायो । त्यस्तै, स्पान्योलले लुडोगारेट्सलाई ६–० ले हराउँदा रेङ्गर्सले पोर्टोलाई २–० ले हरायो । उल्भ्सले स्लोभानलाई १–० ले हरायो भने मोन्चेङ्लाबाकले रोमालाई २–१ ले हरायो ।

प्रकाशित मिति २२ कार्तिक २०७६, शुक्रबार ०७:२४
Loading...