संकटमा भाल्भर्डे : यी हुन् बार्सिलोनाको ‘नम्बर वान टार्गेट’का नयाँ प्रशिक्षक

एजेन्सी, कात्तिक २१
स्पेनिस क्लब बार्सिलोना यतिबेला जुनसुकै बेला पनि आफ्ना प्रमुख प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई पदबाट हटाउन सक्ने अवस्थामा छ । पछिल्लोपटक च्याम्पियन्स लिगमा स्लाभिया प्रहासँग आफ्नो घरमा गोलरहित बराबरी खेलेपछि बार्सिलोनाका खेलाडी र प्रशिक्षक भाल्भर्डेको आलोचना बढेको छ ।

बार्सिलोनाले अबका एक वा दुई खेलमा व्यापक सुधार गर्न नसके भाल्भर्डेलाई बर्खास्तीबाट बच्न कठिन छ । त्यसमा पनि च्याम्पियन्स लिगमा बार्सिलोनाले अब खेल्ने दुई खेलको नतिजाले क्याम्प नोउमा भाल्भर्डेको भविष्य निर्धारण गर्ने देखिन्छ ।

यसैबीच, अहिले बार्सिलोनाले भाल्भर्डेको विकल्पमा नयाँ प्रशिक्षकको खोजी थालेको छ । स्पेनिस मिडिया रिपोर्टअनुसार यदि बार्सिलोनाले भाल्भर्डेलाई पदबाट हटाए वा उनी आफैंले पद छाडे अर्जेन्टिनी म्यानेजर मार्सेलो गालार्डो सबैभन्दा पहिलो रोजाइका प्रशिक्षक हुनेछन् ।

हाल अर्जेन्टिनी क्लब रिभर प्लेट सम्हालिरहेका उनलाई बार्सिलोनाले नयाँ प्रशिक्षकको सूचीमा पहिलो नम्बरमा राखेको छ । अर्जेन्टिनाका विश्वकप विजेता खेलाडी क्लाउडिओ बोर्घीले यो खुलासा गरेका छन् कि, बार्सिलोना गालार्डोलाई नयाँ प्रशिक्षक बनाउने निर्णयबाट केही कदम मात्रै टाढा छ ।

स्पेनिस मिडियासँग कुरा गर्दै बोर्घीले भनेका छन्, ‘मलाई विश्वास छ, गालार्डो डिसेम्बरमा बार्सिलोनाका नयाँ प्रशिक्षक बन्नेछन् । यसका लागि क्रम सुरु भइसकेको छ । गालार्डो बार्सिलोनाका लागि यो समयका सबैभन्दा सही व्यक्ति हुन्, जसको खेलाउने शैली बार्सिलोनाकै जस्तो छ ।’

बोर्घीले यो बताएका छन् कि, बार्सिलोना जाने अवस्थामा रिभर प्लेटले गालार्डोलाई सम्मानपूर्वक बिदा गर्नेछ । ‘यदि बार्सिलोनाले गालार्डोलाई निम्ता गरे रिभर प्लेटले उनलाई खुसीसाथ छाड्नेमा म ढुक्क छु,’ बोर्घीले भने ।

बार्सिलोनाले अब अन्तर्राष्ट्रिय ब्रेक हुनुअघि ला लिगामा ३ दिनपछि सेल्टा भिगोसँग खेल्दैछ । सो खेल भाल्भर्डेका लागि निर्णायक खेल हुनसक्छ । यदि सो खेलमा बार्सिलोना पराजित भए उनी बर्खास्तीमा पर्न सक्ने अधिकतम् सम्भावना छ ।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार २१:४१
Loading...