राम्सेले रोनाल्डोको ‘कीर्तिमानी गोल’ चोरेपछि ……

काठमाडौं, कात्तिक २१
युरोपियन च्याम्पियन्स लिग फुटबलमा गत राति इटालियन क्लब युभेन्टसले रसियन क्लब लोकोमोटिभ मोस्कोलाई उसकै घरमा १–२ ले हरायो । समूह चरणअन्तर्गत भएको तेस्रो तथा अवे मैदानमा युभेन्टसलाई जिताउन आरोन राम्से र डग्लस कोस्टाले १–१ गोल गरे । खेलको इन्जुरी समयमा कोस्टाले जादुयी तरिकाले बल छलाएर उत्कृष्ट गोल गरेपछि युभेन्टसको जित पक्का भएको थियो ।

सो जितसँगै युभेन्टस समूह चरणका अन्तिम २ खेल बाँकी छँद अन्तिम १६ मा प्रवेश गरिसकेको छ । अबका बाँकी दुई खेल युभेन्टसका लागि समूह विजेता वा उपविजेता बनन मात्रै काम लाग्नेछ ।

गत रातिको खेलमा राम्सेले गरेको गोलको चर्चा अहिले बजारमा चुलीमा छ । वेल्स स्टार राम्सेको नाममा लेखिएको टोलीको पहिलो गोल ‘चोरिएको’ भनेर अहिले टिकाटिप्पणी भइरहेको छ । त्यो कसरी भने, खेलको तेस्रो मिनेटमै युभेन्टसले फ्रि किक पायो । सो फ्रि किक रोनाल्डोले हाने । २८ मिटर दूरीबाट रोनाल्डोले हानेको कडा प्रहार टार्गेटमै रह्यो ।

त्यत्ति मात्रै हैन, उनको शक्तिशाली प्रहार मोस्कोका गोलकिपरको हात छिचोल्दै फुत्कियो । र, पोस्टतर्फ अघि बढ्यो । बल गोल लाइनबाट जालीतर्फ गइरहेका बेला नजिकै रहेका राम्सेले आएर बललाई प्रहार गर्दै जाली चुमाए ।

सो गोल सुरुमा रोनाल्डोका नाममा दिइएको थियो । रोनाल्डोको प्रहार किपरका हातबाट फुत्किएर करिब–करिब गोल भइसकेको थियो । बलले लाइन नाघ्दै गर्दा राम्से आएर र प्रहार गरे । यदि राम्सेले प्रहार गरेका थिएनन् भने पनि सो गोल हुने पक्का थियो । किनभने, गोलकिपर पछाडि फर्किएर सो गोल रोक्न वा समाउन समय नै थिएन ।

गोल भइसकेपछि युइएफएले केहीबेरपछि सो गोल रोनाल्डोको नामबाट खोसेर राम्सेको नाममा दियो । र, रोनाल्डो एक कीर्तिमानी गोलबाट चुके । यदि सो गोल रोनाल्डोको नाममा रहेको थियो भने उनका नाममा च्याम्पियन्स लिगमा एक दुर्लभ रेकर्ड बन्ने थियो ।

गत राति मोस्कोविरुद्ध खेल्दा रोनाल्डोलाई गोल गरेर च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक धेरै ३४ भिन्न–भिन्न क्लबविरुद्ध गोल गर्ने खेलाडीको दुर्लभ रेकर्ड बन्ने अवसर थियो । र, रोनाल्डोले मोस्काविरुद्ध गोल गरेर करिब–करिब सो रेकर्ड बनाउने अवसर थियो । तर, एक सेकेन्ड ढिला हुँदा रोनाल्डोको नामको गोल राम्सेको खातामा गयो ।

त्यत्ति मात्रै हैन, सन् २०१८ मा रोनाल्डो रियल मड्रिड छाडेर युभेन्टस गएपछि उनले हालसम्म इटालीमा फ्रि किकबाट सोझै गोल गर्न सकेका छैनन् । टोलीका सबैजसो फ्रि किक आफैंले हान्दै आए पनि उनले हालसम्म फ्रि किक गोलको खातामा खोलेका छैनन् । गत रातिको गोल रोनाल्डोको नाममा भएको भए उनको नामको फ्रि किक गोलको खडेरी पनि टर्ने थियो । तर, उनको बाटोमा राम्से तगारो बनिदिए ।

अहिले विभिन्न सामाजिक सन्जालहरूमा राम्सेले जानी–जानी वा अन्जानमा रोनाल्डोको नाममा हुने गोल आफ्नो नाममा खोसेको भन्दै टिप्पणी गरिरहेका छन् । रोनाल्डोका समर्थकहरूले राम्सेले रोनाल्डोको ऐतिहासिक र कीर्तिमानी गोल चोरेको बताइरहेका छन् ।

यो सिजन मध्यमस्तरको प्रदर्शन गरिरहेका रोनाल्डोले च्याम्पियन्स लिगमा ४ खेल सकिँदा मात्रै १ गोल गरेका छन् । च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता खेलाडी उनले युभेन्टस गएपछि यस प्रतियोगितामा विगतको जस्तो गोल गर्न सकिरहेका छैनन् ।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार १२:४४
Loading...