घाइते गोमेजप्रति समर्पित सनको त्यो ‘सेलिब्रेसन’, जसले पगाल्यो मन

काठमाडौं, कात्तिक २१
युरोपियन च्याम्पियन्स लिग फुटबलमा गत राति इंग्लिस क्लब टोटनह्यामले सर्बियन क्लब क्रेभ्ना ज्भेज्दालाई उसकै घरेलु मैदानमा ०–४ ले हरायो । टोटनह्यामलाई अवे मैदानमा शानदार जित दिलाउन दक्षिण कोरियन खेलाडी हेङ–मिन सनले २ गोल गरे । सनले खेलको ५७औं र ६१औं मिनेटमा गोल गरेका थिए ।

टिमलाई जिताउन महत्त्वपूर्ण प्रदर्शन गरेका सनले सो खेल दौरान गोल गरेको सेलिब्रेसका कारण अहिले उनको तारिफ भइरहेको छ । सनले पहिलो गोल गरेछि सधैंजस्तो गरेर गोलको खुसीयाली मनाएनन् । उनले दुई हात जोडेर याचना गरेजस्तो गरी ईश्वरसँग प्रार्थना गरे । यसो गर्नुको पछाडि खास कारण थियो ।

गत आइतबार प्रिमियर लिग फुटबलमा टोटनह्याम र एभर्टन भिड्दा एभर्टनका पोर्चुगिज मिडफिल्डर आन्द्रे गोमेज घाइते भएका थिए । सनको ट्याकलमा परेका गोमेजेले डरलाग्दो चोट बोकेका छन् । अहिले उनको खुट्टाको जोर्नीको शल्यक्रिया भइसकेको छ ।

सनले गोमेजमाथि जानाजान वा चोट लगाउने नियतले फउल गरेका थिएनन् । उनको हलुवा ट्याकलमा भुइँमा लडेका गोमेजको खुट्टा जमिनमा धसारिएपछि जोर्नीमा चोट परेको थियो । गम्भीर घाइते गोमेजलाई त्यत्तिबेलै स्ट्रेचरमा राखेर निकाल्दा उनले रुँदै–रुँदै मदान छाडेका थिए ।

यता, गोमेजमाथि फउल गरेको आरोपमा सुरुमा पहेंलो र पछि रातो कार्ड पाएका सन पनि मैदानमै भावुक बनेर रोए । उनलाई आफ्ना कारणले गोमेज गम्भीर घाइते भएकोमा छटपटी थियो भने आफूले अनाहकमा रातो कार्ड पाएकोमा अर्को पीडा थियो । खेलपछि सनले मिडियासँग बोल्दै गोमेजलाई आफूल जानाजान चोट नलगाएको बताउँदै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । उनले एभर्टन टिम र गोमेजसँग माफीसमेत मागेका थिए ।

गत राति सोही खेल दौरानको ट्याकललाई लिएर सनले सेलिब्रेसन गरेनन् । उनले आफ्नो ट्याकलमा परेर गम्भीर चोटको उपचार गराइरहेका प्रतिस्पर्धी टिमका खेलाडीको सम्मानमा तथा उनीसँग क्षमा माग्न फरक तरिकाले सेलिब्रेसन गरेको खेलपछि बताए । गोल गरेपछि सनले दुई हात जोडेर दर्शकतिर फर्किएर माफी मागे भने ईश्वरसँग गोमेजको स्वास्थ्य लाभको कामनासमेत गरे ।

अहिले सनले घाइते खेलाडी गोमेजप्रति उच्च सम्मान र मानवीयता देखाएको भन्दै फुटबलप्रेमीहरूले उनको तारिफ गरिरहेका छन् । समर्थकहरूले सनले गोमेजमाथि जानी–जानी फउल नगरेको भए पनि उनले त्यसपछि देखाएको व्यवहार ‘उच्च खेल भावना र संस्कारबाट प्रेरित रहेको’ भन्दै प्रशंसा गरिरहेका छन् ।

यता, खेलपछि मिडियासँग बोल्दै सनले पनि आफूले फरक तरिकाले सेलिब्रेसन गर्नुको कारणबारे बताए । उनले आफ्ना कारण चोट बोकेर कोही खेलाडी अस्पतालमा उपचार गराइरहँदा आफूले मैदानमा गोलको खुसीयाली मनाउन मनले नमान्ने बताए । उनले भने–

‘यस्तै गर्छु भन्ने मेरो तयारी थिएन । गोल गरेपछि स्वतः यस्तो गर्न आयो । उनी (गोमेज) जो मेरा कारणले आज ठूलो चोटसँग जुधिरहेका छन् र उपचार गराइरहेका छन्, यस्तो बेला म कसरी खुसीयाली मनाउन सक्छु ? म उनलाई भेरी सरी भन्छु । र, ईश्वरसँग उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु । त्यो दिनदेखि म आफैं शान्त रहन सकेको छैन । आज मैले थोरै शान्त अनुभूत गरिरहेको छु । म उनी चाँडै ठीक भएर मैदान फर्किएको हेर्न चाहन्छु ।’

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार १०:२९
Loading...