‘तनावपूर्ण’ खेलमा म्यानचेस्टर सिटी एट्लान्टासँग रोकियो : गोलकिपरलाई रातो कार्ड !

काठमाडौं, कात्तिक २१
आफ्ना सब्सिच्युट गोलकिपर क्लाउडियो ब्राभोले रातो कार्ड पाएको खेलमा इंग्लिस टिम म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न समूह चरणको चौथो खेलमा केही तनावपूर्ण दृश्य देखिँदा घरेलु टोली एट्लान्टाले सिटीलाई आफ्नो घरमा १
–१ को बराबरीमा रोक्यो ।

सिटीका चिलियन गोलकिपर ब्राभोलाई खेलको ८१औं मिनेटमा रातो कार्ड दिइएको थियो । उनले एट्लान्टका खेलाडीलाई बक्सबाहिर निस्केर गम्भीर फउल गरेपछि रेफ्रीले ब्राभोलाई सोझै रातो कार्डको दर्शन गराएका थिए । सिटीका खेलाडीले तत्कालै भिएआर जाँच मागे पनि रेफ्रीले भिएआरबाट पनि ब्राभोलाई रातो कार्ड नै दिने निर्णय लिएका थिए । ब्राभो खेलको दोस्रो हाफको सुरुआतमै एडर्सनको ठाउँमा मैदान छिरेका थिए ।

तर, दोस्रो हाफ सिटीका लागि कठिन भयो । ब्राभो रातो कार्ड पाएर मैदान छाडेपछि एकजना खेलाडी बदलेर गोल पोस्टमा केले वाल्कारलाई राखियो । रियाद महारेजको स्थानमा मैदान छिरेका डिफेन्डरले बाँकी समय गोल पोस्ट सम्हालेका थिए ।

सिटीले खेलको सातौं मिनेटैमा रहिम स्टर्लिङको पासमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा सिटीले ४३औं मिनेटमा पेनाल्टी पायो । तर, ग्याब्रएिल जेससको पेनाल्टी प्रहार पोल भन्दा केही बाहिरबाट आउट भएपछि सिटीले खेलमा अग्रता बढाउने मौका चुनाएको थियो ।

दोस्रो हाफमा घरेलु टोली एट्लान्टा खेलमा फर्कियो । उसका खेलाडी मारियो पासालिकले बक्स भित्रबाट ४९औं मिनेटमा हेडिङमार्फत् सुन्दर गोल गरेपछि खेल १–१ मा आयो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल बराबरीमा टुंगियो ।

अब यो बराबरीसँगै सिटी ४ खेलबाट १० अंक बनाएर समूह ‘सी’ को शीर्ष स्थानमा छ । समान ५–५ अंक डायनामो जाग्रेब र शाख्तर डोनेस्ट दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार ०५:१०
Loading...