१० खेलाडीमा सीमित बायरले एथ्लेटिको मड्रिडलाई हरायो

काठमाडौं, कात्तिक २१
स्पेनिस क्लब एथ्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न समूह चरणको चौथो खेलमा एथ्लेटिकोलाई जर्मन क्लब बायर लेभरकुसेनले आफ्नो घरमा २–१ ले स्तब्ध बनायो ।

घरेलु टोली बायर खेलको ८४औं मिनेटमा १० खेलाडीमा झरेको थियो । उसले खेलको ४१औं मिनेटमा उपहार गोलको मदतमा खेलमा अग्रता बनाएको थियो । कर्नर किकबाट आएको बल बक्सभित्र क्लियर गर्नेक्रममा एथ्लेटिकोका थोमस पार्टेले आफ्ना हेडिङमार्फत् आफ्नै पोस्टमा गोल छिराएपछि घरेलु टोलीलाई फाइदा पुगेको थियो ।

त्यसपछि खेलको ५५औं मिनेटमा घरेलु टोली बायरले अग्रता बढायो । बक्समा एथ्लेटिकोका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै बायरका लागि केभिन भोलान्डले सहजै गोल गरेपछि बायरले आफ्नो घरमा २–० को अग्रता बनायो ।

त्यसपछि घरेलु टोली बायर खेलको ८४औं मिनेटमा १० खेलाडीमा सििमत भयो । उसका मिडफिल्डर नाइदेम अमिरी सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए । घरेलु टोली १० खेलाडीमा झरेपछि एथ्लेटिकोले खेलमा फर्किन ठूलो संघर्ष देखायो ।

सोहीक्रममा इन्जुरी समयको चौथो मिनेटमा एथ्लेटिकोका लागि अल्भारो मोराटाले गोल गरे पनि खेल बायरले २–१ ले जित्यो । अब यो जितपछि बायर पहिलो जितबाट ३ अंकसहित समूह ‘डी’को पुछारमा छ । पराजित एथ्लेटिको समान खेलपछि ७ अंक बनाएर दोस्रो स्थानमा छ । १० अंक भएको इटालियन युभेन्टस अर्को चरण पुगिसकेको छ ।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार ०४:३५
Loading...