च्याम्पियन्स लिग : टोटनह्यामको शानदार जित, सनको २ गोल

काठमाडौं, कात्तिक २१
दक्षिण कोरियन खेलाडी हेङ–मिन सनले २ गोल गरेपछि इंग्लिस क्लब टोटनह्यामले युरोपियन च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न समूह चरणको चौथो खेलमा टोटनह्यामले क्रेभेना ज्भेज्दालाई उसकै घरमा ०–४ ले स्तब्ध बनायो ।

टोटनह्यामको शानदार जितमा सनले २ गोल गर्दा सेल्सो र क्रिस्टिएन एरिक्सनले १–१ गोल गरे । टोटनहयामले खेलको ३४औं मिनेटमा अर्जेन्टिनी खेलाडी जिओभानी सेल्सोको गोलबाट अग्रता लिएको थियो । सोही गोलको मदतमा टोटनह्यामले पहिलो हाफमा ०–१ को अग्रता बनायो ।

टोटनह्यामले बाँकी ३ गोल दोस्रो हाफमा हान्यो । जहाँ ५७औं मिनेटमा कोरियन खेलाडी सनले पहिलो गोल गरे । उनले डेले अलीको पासमा गोल गरेका थिए । त्यसको ४ मिनेटपछि नै सनले नै व्यक्तिगत दोस्रो गोल गरे । सो गोलमा रोजले असिस्ट गरेका थिए ।

टोटनह्याम त्यत्तिमै अडिएन । त्यसपछि खेलको ८५औं मिनेटमा एरिक्सनले सेसेगानको पासमा गोल गरेपछि खेल टोटनह्यामले ०–४ ले जित्यो ।

अब यो जितपछि टोटनह्यमले अर्को चरण जाने सम्भावना बलियो बनाएको छ । समूह ‘बी’ मा रहेको उसले ४ खलपछि ७ अंक बनाएर दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक बनाएको जर्मन क्लब बार्यन म्युनिख अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार ०४:१३
Loading...