च्याम्पियन्स लिगमा १८ वर्षीय रोड्रिगोको रोमाञ्चक ह्याट्रिक : रियल मड्रिडको आधा दर्जन गोल

काठमाडौं, कात्तिक २१
घरेलु मैदानमा १८ वर्षीय ब्राजिलियन युवा खेलाडी रोड्रिगो चम्किँदा स्पेनिस रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न समूह चरणको चौथो खेलमा रियलले टर्किस क्लब गालातासरीमाथि ६–० को शानदार जित दर्ता गर्न सफल भयो ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियललाई शानदार जित दिलाउन युवा स्टार रोड्रिगोले च्याम्पियन्स लिगमा गोलको खाता खोल्दा शानदार प्रदर्शन गर्दै ह्याट्रिक गरे । उनले युरोपको सबैभन्दा ठूलो प्रतियोगितामा पहिलो गोल गरेकै दिन ३ गोल गरेर १ गोलका लागि असिस्टसमेत गरे । त्यस्तै, फ्रेन्च फरवार्ड करिम बेन्जेमाले २ गोल गरे भने कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत् १ गोल गरे ।

रियलले खेल सुरु भएको १४ मिनेटको बीचमा ३–० को सहज अग्रता बनाइसकेको थियो । जहाँ रोड्रिगोले ४ मिनेटमा २ गोल गरे । उनले खेलको चौथो मिनेटमै टोलीका लागि पहिलो गोल गरे, जुन यस प्रतियोगितामा उनको पहिलो गोल थियो । उनले पहिलो गोल निकै सुन्दर प्रहारमा गरेका थिए ।

रोड्रिगोले पहिलो गोल मार्सेलोको पासमा गरेका थिए । त्यसको ३ मिनेटमै उनले व्यक्तिगत दोस्रो गोल गरे । सो गोलमा पनि मार्सेलोले नै असिस्ट गरे । मैदानको देब्रे भागबाट मार्सेलोले दिएको हाई पासमा रोड्रिगोले सुन्दर फिनिसिङमा हेडिङ गोल गरेका थिए ।

त्यसपछि खेलको १४औं मिनेटमा रियलले पेनाल्टी पायो । जसमा कप्तान सर्जियो रामोसले गोल गरेपछि रियल आफ्नो घरमा ३–० ले अघि भयो । फेरि खेलको ४५औं मिनेटमा फ्रेन्च फरवार्ड करिम बेन्जेमाले रोड्रिगोकै सुन्दर क्रस पासमा सहजै गोल गरेपछि रियलले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

त्यसपछि खेलको ८१औं मिनेटमा रियलका लागि बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरे । उनले ड्यानी कार्भाहालको पासमा गोल गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा रोड्रिगोले बेन्जेमाको पासमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । उनको गोलपछि रियलले खेल ६–० ले जित्यो । अब यो जितसँगै रियलले ४ खेलपछि ७ अंक बनाएको छ । ऊ समूह ‘ए’को दोस्रो स्थानमा छ । पराजित गालातासरी १ अंकसहित सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार ०३:३५
Loading...