बार्यनद्वारा अन्तिम दुई खेलअघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का

काठमाडौं, कात्तिक २१
जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीहार बिहान सम्पन्न समूह चरणको चौथो खेलमा बार्यन आफ्नो घरमा ग्रीसको पाहुना क्लब ओलम्पियाकोसमाथि २–० को सहज जित निकाल्दै समूह चरणका अन्तिम दुई खेलअघि नै अन्तिम १६ मा पुग्न सफल भयो ।

घरेलु मैदानमा बार्यनलाई जिताउन यो सिजन उत्कृष्ट लयमा रहेका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले १ गोल गरे भने अर्को १ गोल इभान पेरिसिचले गरे । निकै प्रतिस्पर्धात्मक खेलमा लेवान्डोस्कीले ६९औं मिनेटमा गोल गर्दा पेरिसिचले ८९औं मिनेटमा गोल गरेपछि खेल बार्यनले २–० ले जित्यो ।

अब योजितसँगै बार्यन समूह चरणका अन्तिम दुई खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गरेको छ । ४ खेलमा शतप्रतिशत जित निकालेको बार्यन २ खेलअगावै अर्को चरण प्रवेश गर्ने दोस्रो टिम बनेको छ । ऊसँगै इटालियन युभेन्टस पनि अर्को चरण प्रवेश गरिसकेको छ । समूह ‘बी’मा रहेको बार्यनको खातामा ४ खेलबाट १२ अंक भएको छ ।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार ०२:१९
Loading...