युभेन्टस अन्तिम दुई खेलअघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

काठमाडौं, कात्तिक २१
इटालियन क्लब युभेन्टस समूह चरणका अन्तिम दुई खलअघि नै युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीहार बिहान सम्पन्न समूह चरणको चौथो खेलमा युभेन्टसले रसियन क्लब लोकोमोटिभ मोस्कोलाई १–२ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

मोस्कोको घरेलु मैदानमा युभेन्टसलाई जिताउन आरोन राम्से र डग्लस कोस्टाले गोल गरे । युभेन्टसले खेल सुरु भएको तेस्रो मिनेटमै अग्रता लिएको थियो । क्रिस्टियानो रोनाल्डोले लामो दूरीबाट हानेको फ्रि किक मोस्कोका गोलकिपरको हातबाट चिप्लिएर पोस्टको दिशा लिँदै गर्दा राम्सेले प्रहार गरेर छिराएका थिए । बलले करिब–करिब गोल लाइन नाघिसक्दा राम्ेसले बललाई प्रहार गरेका थिए ।

सुरुमा सो गोल रोनाल्डोका नाममा दिइए पनि पछि पुनः राम्सेका नाममा दिइएको थियो । यदि राम्सेले सो बल प्रहार नगरेको भए पनि गोल हुने निश्चित थियो । तर, उनले रोनाल्डोका नाममा गइरहेको फ्रि किक गोल आफ्नो नाममा लेखाए । यदि सो बलमा राम्सेले प्रहार गरेका थिएनन् भने युभेन्टसमा रोनाल्डोको नाममा पहिलो फ्रि किक गोल दर्ता हुने थियो ।

त्यसपछि खेलको १२औं मिनेटमा मोस्कोका लागि एलेक्सेई मिरानाचुकले गोल गर्दै खेल बराबरी बनाए । त्यसपछि खेलमा गोल हुन इन्जुरी समय नै पखर्नु परेको थियो । जहाँ घरेलु टोली टोलीलाई झट्का दिँदै युभेन्टसका सब्सिच्युट खेलाडी डग्लस कोस्टाले निकै सुन्दर गोल गरे । खेलको ९३औं मिनेटमा उनले गोन्जालो हिगुइनको तालमेलमा बक्सभित्र मोस्कोका गोलकिपरको टाङमुनिबाट गोल छिराएका थिए । सो गोलसँगै खेल युभेन्टसले १–२ ले जित्यो ।

यससँगै युभेन्टस अन्तिम २ खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गरेको छ । अबका बाँकी दुई खेल उसललाई समूह विजेता वा उपविजेता बनाउन मात्रै हुनेछ ।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार ०१:५८
Loading...