एथ्लेटिको मड्रिडलाई ग्रीजम्यानको चिन्ता : बार्सिलोनालाई पठायो यस्तो सन्देश

एजेन्सी, कात्तिक २०
स्पेनिस क्लब एथ्लेटिको मड्रिडले बार्सिलोनामा आफ्ना पूर्वखेलाडी एन्टोनी ग्रीजम्यानको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । एथ्लेटिकोको अध्यक्ष इनरिके कारेजोले एक अन्तर्वार्तामा बोल्दै क्याम्प नोउले आफ्ना पूर्वस्टारसँग ‘राम्रो’ व्यवहार गरोस् भन्ने चाहेको बताएका छन् ।

बार्सिलोना आएपछि आफ्नो स्थान बनाउन र लय समात्न संघर्ष गरिरहेका फ्रेन्च फरवार्ड ग्रीजम्यान अहिले पनि टोलीमा स्थान बनाउनै लडिरहेका छन् । कतिपयले उनी बार्सिलोनामा ‘असफल हुनेतर्फ अघि बढेको’ विश्लेषण गर्न थालिसकेका छन् ।

पछिल्लो समय बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले विश्वविजेतालाई प्राथमिकतामा राख्न छाडेको तथा कप्तान लिओनल मेस्सीसँग व्यक्तिगत सम्बन्ध सुमधुर नरहेको भन्ने कुराले ग्रीजम्यानको भविष्यलाई असर पार्ने सक्ने जानकारहरू बताउँछन् ।

एथ्लेटिकोको प्रशिक्षक कारेजोले सोही कुरा उल्लेख गर्दै बार्सिलोनाले आफ्ना पूर्वखेलाडीसँग सम्मानित व्यवहार गर्न भन्दै सन्देश पठाएका छन् । ‘ग्रीजम्यान विश्वस्तरका खेलाडी हुन् । उनीसँग प्रशस्तै क्षमता छ,’ कारेजोले भनेका छन्, ‘क्याम्प नोउमा अहिले उनीसँग जे भइरहको छ, त्यो हामीलाई थाहा छ । र, यो राम्रो भइरहेको छैन । हामी चाहन्छौं– बार्सिलोनाले उनीसँग हामीले जस्तै व्यवहार गरोस् ।’

गत समरमा ग्रीजम्यानलाई बार्सिलोनाले एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो । बार्सिलोना आइकन उनले सबैखाले प्रतियोगितामा गरी १४ अफिसियल खेलबाट ४ गोल गर्दै ३ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति २० कार्तिक २०७६, बुधबार २१:३६
Loading...