स्लाभियासँगको ‘निराशाजनक बराबरी’ पछि के भने मेस्सीले ?

काठमाडौं, कात्तिक २०
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस बार्सिलोनाले गत राति आफ्नो घरेलु मैदानमा चेक क्लब स्लाभिया प्रहासँग गोलरहित बराबरी खेल्यो । तुलनात्मक रूपमा कमजोर टिमविरुद्ध बार्सिलोनाले गोलविहीन बराबरी खेलेसँगै उसको अन्तिम १६ को यात्रा केही कठिन बनेको छ । तर, बार्सिलोनासँग अझै दुई खेल छन् । जसमा उसले एक खेल जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग आफ्नो घरमा खेल्नेछ भने इटालियन इन्टर मिलानसँग अवे मैदानमा खेल्नेछ । बार्सिलोनाका लागि यी दुवै खेल कठिन खेल हुन् ।

गत रातिको खेलपछि बार्सिलोनाका कताप्न लिओनल मेस्सीले ‘एएस’ पत्रिकाको अनलाइनलाई प्रतिक्रिया दिँदै स्लाभियासँगको खेलको नतिजा निराशाजनक रहे पनि टिममाथि ठूलो संकट नरहेको बताएका छन् । उनले अझै दुई खेल बाँकी रहेकाले बाँकी खेलमा राम्रो गरे अघि बढ्न सकिने बताए ।

‘यो साँचो हो । हामीले यस खेलमा स्तरअनुसार दिन सेकनौं । हामीले गोल गरेर खेल जित्नुपर्ने थियो । किनभने, हामी आफ्नो घरमा थियौं । र, उनीहरू बलिया प्रतिस्पर्धी थिएनन्,’ मेस्सीले भने, ‘तर, हामीसँग अझै दुई खेल बाँकी नै छन् । यी दुई खेल जितेर हामी राम्रो अवस्थाबाट अर्को चरण जान सक्छौं ।’

मेस्सीले स्लाभियाविरुद्धको खेलमा खेलाडीहरूबीच तादम्यता नमिलेको बताए । ‘हामीले प्रयास नगरेका होइनौं । तर, कहीं न कहीं केही कुरा मिस भइरहेका थिए । मलाई लाग्छ, हामीले दबाब सिर्जना गर्न सकेनौं र आक्रमणमा रचनात्मकता दिन सकेनौं,’ मेस्सीले भने, ‘मैदान पस्नुअघि मलाई यो खेल जित्छौं भन्ने लागेको थियो ।’

मेस्सीले फुटबलमा सधैं जित सम्भव नहुने बताए । ‘खेलमा सधैं जित्न सम्भव हुँदैन । अहिलेको फुटबल झनै कठिन छ । हामी सकेसम्म सबै खेल जित्न प्रयास गर्ने हो,’ मेस्सीले भने, ‘हामी बार्सिलोना हौं । त्यसैले पनि हामीमाथि थप दबाब हुन्छ । एक खेलको खराब वा कमजोर प्रदर्शनले हामीमाथि थुप्रै प्रश्न उठ्छन् ।’

मेस्सीले प्रशिक्षक भाल्भर्डेको रणनीतिमा समस्या नरहेको बताए । ‘होइन, होइन । मलाई त्यस्तो लाग्दैन । उनले (भाल्भर्डे) ले टिमलाई जिताउन सकेसम्म राम्रो योजना र रणनीति बनाउँछन् । तर, सधैं पूर्वतयारीअनुसार मैदानमा खेल्न सकिँदैन,’ मेस्सीले भने, ‘हामीले जित्न नसक्नुको कारण हामी सब हौं ।’

प्रकाशित मिति २० कार्तिक २०७६, बुधबार १२:३२
Loading...