बार्सिलोनाको अन्तिम १६ को यात्राबारे यसो भन्छन् वेंगर

एजेन्सी, कात्तिक २०
युरोपियन च्याम्पियन्स लिग फुटबलमा गत राति स्पेनिस बार्सिलोनाले चेक क्लब स्लाभिया प्रहासँग आफ्नो घरमा गोलरहित बराबरी खेल्यो । बार्सिलोनाले घरेलु मैदानमा कमजोर प्रदर्शन गर्दा उसले २ अंक गुमाएसँगै अन्तिम १६ मा जान बार्सिलोनाले बाँकी दुई खेलमा ठूलै मेहनत गर्नुपर्ने भएको छ ।

बार्सिलोना हाल समूह ‘एफ’को शीर्ष स्थानमा छ । तर, उसले बाँकी दुई खेल जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग आफ्नो घर र इटालियन इन्टर मिलानसँग अवे मैदानमा खेल्नुपर्ने हुँदा उसका लागि यी दुवै खेल कठिन छन् ।

यसैबीच, इंग्लिस क्लब आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले बार्सिलोनाले गत राति स्लाभियासँग गरेको प्रदर्शनबारे टिप्पणी गरेका छन् । हाल क्लबविहीन अवस्थामा खेलपण्डितको भूमिकामा रहेका वेंगरले बार्सिलोनाले आफ्नो घरमा ‘खराब’ प्रदर्शन गरेको बताएका छन् ।

‘ला लिगाको लिडर भइकन पनि उनीहरू च्याम्पियन्स लिगको समूह चरणमा बिर्सनालायक खेलिरहेका छन् । उनीहरूको खेलमा निकै सुस्तता छ । उसका कुनै पनि खेलाडी शानदार लयमा छैनन् । जबकि, त्यहाँ एकसे एक ठूला खेलाडी छन्,’ वेंगरले भने, ‘मलाई लागेको थियो– बार्सिलोनाले यो खेल ४–५ गोलको अन्तरमा जित्नेछ ।’

वेंगरले बार्सिलोनाले यो सिजन आफ्नो ‘करिश्मा’ गुमाएको बताए । ‘बार्सिलोना एक शानदार र ऐतिहासिक टिम हो । उनीहरूसँग लियो मेस्सीजस्ता खेलाडी छन् । आज टिमले जसरी खेल्यो, त्यहाँ मेस्सीले धेरै कुरा दिन्छन् भन्ने आशा थियो । बार्सिलोना अझै पनि मेस्सीकै भरोसामा छन् । हरेक खेलाडी खेल जित्न मेस्सी चम्किनुपर्छ भन्ने सोच्दछन् । तर, मेस्सी जादुगर होइनन्, जो हरेक खेलमा जादु देखाउन सक्छन् ।’

वेंगरले थपे, ‘म बार्सिलोनालाई ला लिगामा पनि हेरिरहेको छु । उनीहरूले यो सिजन आफ्नो करिश्मा (चमक) गुमाइरहेका छन् । अहिले जसरी उनीहरू खेलिरहेका छन्, त्यो उनीहरूको मौलिक खेल होइन । त्यहाँ थुप्रै कुरा मिस भइरहेका छन् ।’

वेंगरले बार्सिलोनालाई च्याम्पियन्स लिगमा अन्तिम १६ मा जान अब प्रशस्तै मेहनत चाहिने बताए । ‘बार्सिलोना अहिले समूहको टपमा छ । तर, ऊ सुरक्षित छैन । मलाई लाग्छ, उसले प्रशस्तै मेहनत गर्नुपर्छ,’ वेंगरले थपे, ‘किनभने, उसका आगामी दुवै खेल निकै कठिन छन् ।’

प्रकाशित मिति २० कार्तिक २०७६, बुधबार ११:००
Loading...