च्याम्पियन्स लिग : इन्टर मिलानमाथि डर्टमुन्डको शानदार कमब्याक जित !

काठमाडौं, कात्तिक २०
जर्मन क्लब बोरुसिया डर्टमुन्डले युरोपियन च्याम्पियन्स लिग फुटबलमा आफ्नो घरमा पछि परेको अवस्था उल्टाएर शानदार कमब्याक जित निकालेको छ । पाहुना टोली इटालियन इन्टर मिलानले आफ्नो घरमा २ गोलको अग्रता लिए पनि डर्टमुन्डले त्यसलाई उल्टाएर खेल ३–२ ले खेल जितेको हो ।

गत राति सिग्नल इडुना पार्कमा भएको समूह चरणको चौथो खेलमा डर्टमुन्डलाई कमब्याक जित दिलाउन गत समरमा स्पेनिस रियल मड्रिडबाट लोनमा गएका अक्राफ हाकिमीले २ गोल गरे । अर्को १ गोल जुलियन ब्रान्डले गरे । यता, पराजित इन्टरका लागि लौटारो मार्टिनेज र माटिस भिसिनोले १–१ गोल गरे ।

डर्टमुन्डको घरमा इन्टरले आक्रामक सुरुआत गर्दै खेल सुरु भएको पाँचौं मिनेटमा गोलको खाता खोलेको थियो । अर्जेन्टिनी फरवार्ड मार्टिनेजले बक्स भित्रबाट निकै सुन्दर गोल गरेर घरेलु टोलीलाई पछि पारेका थिए ।

फेरि खेलको ४०औं मिनेटमा भिसिनोले गोल गरेपछि इन्टरले पहिलो हाफमा डर्टमुन्डलाई २–० ले पछि पारेको थियो ।

तर, दोस्रो हाफमा डर्टमुन्डले शानदार पुनरागमन सम्भव बनायो । उसले लगालग ३ गोल गरेर खेल जित्यो । डर्टमुन्डका लागि खेलको ५१औं मिनेटमा अक्राफ हाकिमीले मारियो गोट्जेको पासमा गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्काउने संकेत गरेका थिए । त्यसपछि खेलको ६४औं मिनेटमा जुलियनले गोल गरेपछि खेल २–२ आयो ।

त्यसपछि दुवै टोली विजयी गोलको खोजीमा रहेका बेला घरेलु टोलीले खेलमा अग्रता लियो । ७७औं मिनेटमा हाकिमीले व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा डर्टमुन्डले ३–२ को अग्रता लियो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन । र, खेल डर्टमुन्डले जित्यो ।

अब यो जितसँगै डर्टमुन्ड ४ खेलबाट ७ अंक बनाएर समूह ‘एफ’को दोस्रो स्थानमा छ । ८ अंक भएको बार्सिलोना शीर्ष स्थानमा छ भने ४ अंक भएको इन्टर मिलान तेस्रो स्थानमा छ ।

गत राति नै भएका अन्य खेलमा नापोली आफ्नो घरमा रेड बुलसँग १–१ को बराबरीमा रोकियो । अर्को खेलमा भ्यालेन्सियाले लिलेलाई आफ्नो घरमा ४–१ ले हराउँदा लियोनले आफ्नो घरमा बेनफिकालाई ३–१ ले निराश बनायो ।

प्रकाशित मिति २० कार्तिक २०७६, बुधबार ०७:४४
Loading...