नेइमार फिर्तीबारे ‘क्लबलाई दोष’ दिँदै यसो भन्छन् मेस्सी

एजेन्सी, कात्तिक ४
स्पेनिस बार्सिलोनाले अस्ति भर्खर सकिएको समर सिजनमा पूर्वखेलाडी नेइमार फर्काउन सकेको प्रयास गरेको थियो । सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा फ्रेन्च क्लब पिएसजीलाई आफैंले बेचेका खेलाडी पुनः भित्र्याउन बार्सिलोनाले पटक–पटक पिएसजीसँग प्रस्ताव पठायो । तर, दुई क्लबबीच कुरा नमिलेपछि नेइमार पिएसजीमै रहन बाध्य भए ।

यसैबीच, बार्सिलोनाका कप्तान लिओनल मेस्सीले नेइमार फर्काउने विषयमा देखिइरहेका समस्याबारे मुख खोलेका छन् । उनले यो दाबी गरेका छन् कि, नेइमार फर्काउने योजनाको विरुद्धमा क्लबकै केही अधिकारीहरू लागेका छन् । ‘मेट्रो ९५.१’ सँग कुरा गर्दै आफूले पनि नेइमार फर्किउन् भन्ने चाहेको तर क्लबको व्यवस्थापनकै कारण कठिन भइरहेको बताए ।

‘मेरो विचारमा अब नेइमारलाई पुनः अनुबन्ध गर्न कठिन छ । क्लब र केही अधिकारी नै नेइमार ल्याउने योजनाको विरुद्धमा लागेका छन्,’ मेस्सीले भनेका छन्, ‘फुटबल र बार्सिलोनाका लागि यो कुरा राम्रो हो । किनभने, नेइमार विश्वकै एक उत्कृष्ट खेलाडी हुन् ।’

मेस्सीले समस्या क्लबभित्रै रहेकोमा जोड दिँदै भने, ‘उनलाई ल्याउन समस्या कहाँ छ भन्ने मलाई थाहा छ । को–को नेइमार फर्काउन चाहँदैनन् भन्ने पनि मैले बुझेको छु ।’

मेस्सीले अब नेइमार रियल मड्रिड जाने सम्भावना बढेको पनि बताए । ‘यदि फरक अवस्था नआए नेइमार रियल मड्रिड जाँदैछन् । उनी फ्रान्स छाड्न चाहन्छन् । र, उनको रोजाइमा अब मड्रिड पहिलो प्राथमिकतामा हुनेछ,’ मेस्सीले थपे ।

प्रकाशित मिति ४ कार्तिक २०७६, सोमबार १९:४७
Loading...