‘फिफा बेस्ट’मा मेस्सीले मलाई भोट गर्नु सानो कुरा होइन : माने

एजेन्सी, कात्तिक ४
इंग्लिस क्लब लिभरपुल तथा सेनेगलका स्टार खेलाडी साडियो मानेले फिफा बेस्ट अवार्ड–२०१९ मा आफूले बार्सिलोनाका लिओनल मेस्सीको भोट पाउँदा ज्यादै खुसी भएको बताएका छन् । अर्जेन्टिनाका कप्तानको हैसियतमा मेस्सीले बेस्ट अवार्डमा ५ अंकको पहिलो भोट मानेलाई दिएका थिए । दोस्रो भोट क्रिस्टियानो रोनाल्डोलाई दिँदा तेस्रो भोट बार्सिलोनाकै फ्रेन्की डे जोङलाई दिएका थिए ।

हालै ‘द सन्डे टाइम्स’सँग कुरा गर्दै मानेले मेस्सीको तारिफ गरेका छन् । मानेले फिफा बेस्ट अवार्ड छान्न मेस्सीले आफूलाई भोट दिएको थाहा पाउँदा सुरुमा नपत्याएको बताएका छन् । फिफा अवार्डको विषयमा बोल्दै मानेले मेस्सी एकदमै सफा मनको खेलाडी भएको बताए ।

‘मेस्सी एकदमै सफा मन भएका खेलाडी हुन् । उनले मलाई भोट दिनु भनेको सानो कुरा होइन । यो निकै तारिफयोग्य छ,’ मानेले भनेका छन्, ‘यसले साबित गर्छ कि, म कति धेरै टाढा आइसकेको छु । यसले मेरो सफलताको पहिचान गराएको छ ।’

मानेले आफू संघर्ष र मेहनतले यहाँसम्म आइपुगेको पनि बताए । ‘म सानैबाट कडा मेहनत र संघर्ष नगरी सफलता पाउन सकिँदैन भन्ने सोचाइको व्यक्ति हुँ । म लगातार मेहनत गरिररहेको छु,’ उनले भने, ‘सबैले सफलताका लागि मेहनत गर्नु आवश्यक छ ।’

प्रकाशित मिति ४ कार्तिक २०७६, सोमबार १२:२९
Loading...