‘रोनाल्डोले गरेजति अहिलेका कुनै खेलाडीले गर्न सक्दैनन्’

एजेन्सी, कात्तिक ४
विगतमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सहकर्मी भएर खेलेका पूर्वस्टार लोइस साहाले पोर्चुगिज क्रिस्टियानो रोनाल्डोको खुलेर तारिफ गरेका छन् । उनले हाल इटालियन युभेन्टसबाट खेलिरहेका रोनाल्डो समकालीन फुटबलमा सर्वोत्कृष्ट खेलाडीका रूपमा रहेको बताएका छन् । साहाले सन् २००४ देखि २००८ सम्म युनाइटेडबाट खेल्दा चार सिजन रोनाल्डोका सहकर्मी भएर खेलेका थिए ।

हालै एक टिभी कार्यक्रममा बोल्दै साहाले रोनाल्डोले गरे जति अहिलेका कुनै पनि खेलाडीले गर्न नसक्ने दाबीसमेत गरेका छन् । साहाले यो दाबी गरेका छन् कि, रोनाल्डोले फरक–फरक देश र लिगबाट हासिल गरेका उपलब्धि र सफलता अन्य खेलाडीले पाउन कठिन छ ।

‘रोनाल्डोप्रति मेरो एकदमै ठूलो सम्मान छ । उनी यो उमेरमा पनि अहिले युभेन्टसबाट शानदार खेलिरहेका छन् । उनका लागि उमेरको अंक ठूलो कुरा होइन । उनी त्यसैबेलादेखि क्षमतावान् खेलाडी थिए, जतिबेला मैले उनीसँग युनाइटेडमा पहिलोपटक सँगै खेलेको थिएँ,’ साहाले भनेका छन् ।

साहाले यो समयमा रोनाल्डोले गरेजति जो कोही खेलाडीलाई गर्न कठिन हुने बताए । ‘समकालीन फुटबलमा रोनाल्डोले जति गरेका छन्, त्यो जो कोहीका लागि टाढाको कुरा हो । उनको सफलता एकदमै लोभलाग्दो छ,’ साहाले भने, ‘उनी शारीरिक रूपमा अझै पनि बलिया छन् । रोनाल्डो जो कोही युवा खेलाडीका लागि आदर्श खेलाडी हुन् ।’

साहाले यो बताएका छन् कि, रोनाल्डोले युभेन्टसबाट च्याम्पियन्स लिगसहित ठूला व्यक्तिगत अवार्ड जित्न सक्छन् । ‘रोनाल्डोले युभेन्टसबाट च्याम्पियन्स लिग जित्दैछन् । यो सिजन उनीहरूसँग निकै राम्रो टिम छ । हरेक पोजिसनका लागि उनीहरूसँग उत्कृष्ट खेलाडी छन्,’ साहाले भने, ‘उनले इटालीमा रहँदा थुप्रै कुरा जित्न सक्छन् ।’

प्रकाशित मिति ४ कार्तिक २०७६, सोमबार १०:२८
Loading...