लिभरपुलको विजयी यात्रा टुंगियो : युनाइटेडसँग हारबाट मुस्किलले बच्यो

काठमाडौं, कात्तिक ३
इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन शतप्रतिशत विजयी यात्रामा रहेको लिभरपुलको शानदार यात्रामा पूर्णविराम लागेको छ । ऊ पहिलोपटक लिगको नवौं खेलमा म्यानचेस्टर युनाइटेडसँग जितविहीन बनेको छ । यसअघि उसले लिगका ८ वटै खेल जितेको थियो । तर, नवौं खेल खेल्न युनाइटेडको घरमा पुगेको लिभरपुल हार नजिक पुगेका बेला अन्तिम समयमा गोल गर्दै हारबाट जोगिन सफल भयो ।

आइतबार राति भएको लिगको नवौं खेलमा लिभरपुल र युनाइटेडले १–१ को बराबरी खेलेका हुन् । आफ्नो घर ओल्ड ट्राफोर्डमा युनाइटेडले सुरुआती अग्रता लिए पनि खेलको अन्तिम समयमा गोल खाएर जितबाट चुकेको थियो । यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको युनाइटेडले लिग लिडरलाई हराउने मौका सदुपयोग गर्न सकेन ।

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा भिएआरको प्रयोग पटक–पटक भयो । युनाइटेडले गरेको गोललाई पनि भिएआरबाटै मान्यता दिइएको थियो भने लिभरपुलले पहिलो हाफमा गरेको बराबरी गोल पनि भिएआरबाटै रद्द गरिएको थियो ।

घरेलु टोली युनाइटेडले खेलको ३६औं मिनेटमा मार्कुस रासफोर्डको गोलबाट अग्रता लिएको थियो । ड्यानिएल जेम्सले बक्सभित्र दिएको क्रस पासमा रासफोर्डले आकर्षक फिनिसिङ गर्दै बललाई जाली चुमाएका थिए ।

सो गोल लागेपछि पहिलो हाफको अन्तिम समयमा पाहुना टोली लिभरपुलका लागि साडियो मानेले गोल गरेर खेल बराबरी गरेका थिए । सुरुमा स्कोर बोर्डमा गोल दिइए पनि पछि भिएआरबाट सो गोल रद्द गरियो । बल नियन्त्रणमा लिनेक्रममा माने आफैंले ह्यान्ड बल गरेपछि उनको बराबरी गोल रद्द भयो ।

मानेको गोल रद्द भएपछि पनि लिभरपुलले पहिलो हाफमा बराबरी गोल गर्ने मौका बनाएको थियो । तर, उसका खेलाडी त्यसमा चुके । र, पहिलो हाफमा युनाइटेडले १–० को अग्रता बनायो । पहिलो हाफमा बल लिभरपुलले बढी आफ्नो पक्षमा राखे पनि दुवै टिमले समान ४–४ पटक पोस्ट आक्रमण गर्दा समान २–२ प्रहार मात्रै सही निशानामा राखेका थिए ।

दोस्रो हाफमा बराबरी गोलको खोजीमा रहेको भ्रमणकारी टोली लिभरपुलले खेलको ८५औं मिनेटमा गोल फर्कायो । खेलको ७१औं मिनेटमा जोर्डन हेन्डर्सनको स्थानमा मैदान छिरेका अडाम लालनले रोवर्टसनको क्रसमा सहजै गोल गरेर खेल १–१ मा ल्याए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल १–१ मा टुंगियो ।

अब यो बराबरीसँग दुवै टिमले १–१ अंक बाँडेका छन् । लिभरपुल ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा यथावत छ भने युनाइटेड समान खेलबाट १० अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । यो बराबरपछि लिग लिडर लिभरपुल र दोस्रो स्थानका म्यानचेस्टर सिटीबीचको अंक दूरी ८ बाट ६ मा झरेको छ ।

प्रकाशित मिति ३ कार्तिक २०७६, आईतवार २३:१३
Loading...