शीर्ष स्थान गुमेपछि जिदानले भने– ‘अझै लामो बाटो बाँकी नै छ’

एजेन्सी, कात्तिक ३
स्पेनिस ला लिगा फुटबलमा गत राति रियल मड्रिड अवे मैदानमा आरसिडी मालोर्सासँग १–० ले पराजित भयो । लिगको कमजोर टिमसँग हारेपछि रियलले शीर्ष स्थानमसेत गुमायो । सो खेलपछि रियल बार्सिलोनाभन्दा १ अंकले पछि परेर दोस्रो स्थानमा झरेको छ ।

स्टार खेलाडीको सेट लिएर खेले पनि खराब प्रदर्शनका कारण ३ अंक गुमाएसँगै रियलका प्रशिक्षक र खेलाडीको आलोचना बढेको छ । समर्थकहरूले रियलका प्रशिक्षक थिबाउट कोर्टुवा र अन्य केही खेलाडीको खुलेर आलोचना गरिररहेका छन् । सो खेलपछि पत्रकार सम्मेलनमा भाग लिँदै रियलका प्रशिक्षक जिनेदिन जिदानले हारबारे बोलेका छन् ।

जिदानले मालोर्सासँग हार्नु अकल्पनीय नतिजा रहेको बताउँदै सो हारपछि टोलीमा प्रश्नहरू उठेको बताएका छन् । ‘हामी यो खेल हार्दैछौं भन्ने मैले कल्पनासम्म गरेको थिइनँ । हामीले राम्रो गोलअन्तरमा खेल जित्न सक्नुपर्थ्यो,’ जिदानले भने, ‘हामीले साँच्चै खराब खेल खेल्यौं ।’

जिदानले मालोर्सासँग हारेपछि आफू चिन्तित नभएको तर लिगमा ३ अंकले ठूलो फरक पर्ने बताए । ‘यो हारबाट म बढी चिन्तित छैन । तर, यस्ता हारले ठूलो फरक पार्छन्,’ उनले भने, ‘हामी उपाधि जित्न चाहन्छौं भने यस्ता हरेक खेल जित्नुपर्छ ।’

जिदानले लिगमा अझै थुप्रै खेल बाँकी रहेकाले अहिले नै आत्तिनु आवश्यक नरहेको बताए । ‘यो हारले प्रश्नहरू उठेका छन् । तर, हामी आत्तिएका छैनौं । किनभने, लिगमा अझै लामो बाटो बाँकी नै छ,’ जिदानले भने, ‘बार्सिलोनासँगको १ अंकको दूरी जतिबेला पनि हट्न सक्छ ।’

प्रकाशित मिति ३ कार्तिक २०७६, आईतवार ११:३०
Loading...