इक्वेडरको पोस्टमा अर्जेन्टिनाले ठोक्यो आधा दर्जन गोल !

काठमाडौं, असोज २६
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले इक्वेडरमाथि फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि १–६ को जित निकालेको हो ।

फराकिलो जितमा अर्जेन्टिनाले १ गोल उपहारमा पायो भने ५ गोल आफूले हान्यो । अर्जेन्टिनाका लागि खेलको २०औं मिनेटमा लुका अलारियोले पहिलो गोल गरे । त्यसपछि २७औं मिनेटमा इक्वेडरबाट उपहार गोल पाएपछि खेलमा अर्जेन्टिना ०–२ ले अघि रह्यो । आत्मघाती गोल जोन जाइरोले गरेका थिए ।

त्यसपछि खेलको ३२औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो, जसमा लियान्ड्रो पाराडेशले कुनै गल्ती नगरी गोल गरेर अर्जेन्टिनालाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा अर्जेन्टिनाले ३ गोल थप्यो भने आफूले १ गोल खायो । इक्वेडरका लागि दोस्रो हाफ सुरु भएको ४ मिनेटमै एन्जल मिनाले गोल गरेर खेल १–३ बनाए । त्यसपछि अर्जेन्टिनाका लागि खेलको ६६औं मिनेटमा जर्मन पेजेल्लाले गोल गरे । फेरि खेलको ८२औं मिनेटमा निकोलास डोमिनगुईले गोल गरेपछि अर्जेन्टिना १–५ ले अघि रह्यो ।

अर्जेन्टिना त्यत्तिमै अढिएन । खेलको ८६औं मिनेटमा लुका ओकाम्पोसले गोल गरेपछि खेल अर्जेन्टिनाले १–६ ले जित्यो । यस खेलमा पाउलो डिबाल लौटारो मार्टिनेजको ठाउँमा मैदान छिरे पनि गोल गर्न सकेनन् ।

प्रकाशित मिति २६ आश्विन २०७६, आईतवार २१:४४
Loading...