मेस्सी अर्जेन्टिनी टोलीमा फर्किने मिति टुंगो लाग्यो

एजेन्सी, असोज २६
अर्जेन्टिनाका सुपरस्टार तथा स्थायी कप्तान लिओनल मेस्सी राष्ट्रिय टोलीमा फर्किने मिति टुंगो लागेको छ । आइतबार अर्जेन्टिनाले इक्वेडरसँग मैत्रीपूर्ण खेल खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक लिओनल स्कालोनीले आफ्ना कप्तानबारे बताए ।

सोक्रममा उनले मेस्सी अर्को महिनाबाट राष्ट्रिय टोलीमा फर्किने पुष्टि गरे । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले मेस्सीमाथि लगाएको तीन खेलको प्रतिबन्ध सकिएसँगै मेस्सीलाई राष्ट्रिय टोलीमा फर्किने बाटो खुला हुनेछ । आइतबार अर्जेन्टिनाले इक्वेडरसँग खेलेपछि मेस्सीमाथिको प्रतिबन्ध सकिनेछ ।

गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल दौरान महासंघलाई ‘भ्रष्ट संस्था’को आरोप लगाएको मुद्दामा मेस्सीमाथि सो संस्थाले तीन खेलमा प्रतिबन्ध लगाएको थियो । मेस्सीले यसअघि मेक्सिको र जर्मनीसँगको खेल गुमाइसकेका छन् ।

अर्जेन्टिनाले आगामी नोभेम्बर १५ मा ब्राजिलसँग खेल्ने तालिका छ । सो खेल साउदी अरेबियामा हुनेछ । त्यसपछि नोभेम्बर १८ मा पराग्वेसँग बंगलादेशमा खेल्नेछ । मेस्सी यी खेलबाट टोलीमा फर्किनेछन् ।

यता, प्रशिक्षक स्कालोनीले अर्का स्टार खेलाडी सर्जियो अगुएरो पनि मेस्सीसँगै एकसाथ टोलीमा फर्किने बताएका छन् । उनले अगुएरो हाल व्यक्तिगत कारणले टोलीबाहिर रहेको जनाएका छन् ।

प्रकाशित मिति २६ आश्विन २०७६, आईतवार १७:४०
Loading...