रामोसका नाममा बन्यो नयाँ कीर्तिमान

काठमाडौं, असोज २६
स्पेनको राष्ट्रिय टोलीका डिफेन्डर तथा कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । रामोस अब स्पेनका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी बनेका छन् ।

युरो कप छनौटमा गत राति स्पेनले अवे मैदानमा नर्वेसँग १–१ को बराबरी खेल्यो । सो खेल रामोसका लागि स्पेनको जर्सीमा १६८औं खेल थियो, जुन सर्वाधिक बढी हो । यसअघि सर्वाधिक खेलको रेकर्ड गोलकिपर इकर क्यासिल्लासको नाममा थियो ।

क्यासिल्लासले स्पेनका लागि १६७ खेल खेलेका थिए । तर, अब रामोसले उनलाई पछि पार्दै देशका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी बनेका छन् । रामोसले स्पेनको राष्ट्रिय टोलीमा सन् २००५ मा डेब्यु गरेका थिए । त्यसयता उनले कूल १६८ खेल खेल्दै २१ गोल गरेका छन् ।

प्रकाशित मिति २६ आश्विन २०७६, आईतवार १७:०७
Loading...