फिफाद्वारा फातीलाई स्पेनबाट खेल्न बाटो खुला

एजेन्सी, असोज २३
स्पेनिस बार्सिलोनाका युवा स्टार खेलाडी अन्सु फातीका लागि स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने बाटो खुला भएको छ । गत असोज ३ गते स्पेनको सरकारले फातीलाई स्पेनिस नागरिकता प्रदान गरेको थियो । गिनी बिसाउमा जन्मिएका १६ वर्षीय फाती स्पेनमा बसोबास गर्न थालेको १० वर्ष पूरा भएपछि त्यहाँको सरकारले उनलाई नागरिकता दिएको थियो ।

यो सिजन बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेर उच्च प्रदर्शनसँगै चर्चामा रहेका फातीले स्पेनिस नागरिकता पाएसँगै उनले भविष्यमा कुन देशबाट अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्लान् भन्ने चासो बढिरहेको थियो । गिनी बिसाउका फाती सो देशका समेत नागरिक भएसँगै नागरिकता पाएपछि उनी स्पेनका समेत नागरिक बनेका छन् । साथै, फातीलाई पोर्चुगलको समेत नागरिक बन्ने विकल्प छ । तर, उनले सो देशबाट नागरिकता लिइसकेका छैनन् ।

स्पेनको नागरिकता पाएसँगै धेरैले फातीले स्पेनबाटै अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्ने चर्चा चलिरहँदा अब सो सम्भावना बढेको छ । स्पेनिस फुटबल संघले फातीलाई स्पेनबाट खेल्न अनुमति खुला गर्न फिफा समक्ष फाइल दर्ता गरेकोमा फिफाले आज सो विषयमा निर्णय गर्दै फातीले स्पेनबाट खेल्न पाउने निर्णय गरेको छ ।

६ वर्षको छँदा स्पेन आएर बसोबास गर्न थालेका फाती सुरुमा २०१०–१२ सम्म सेभिल्लाको एकेडेमीमा थिए भने त्यसपछि उनी बार्सिलोना पुगेका थिए । यसअघि फाती बार्सिलोनाको ‘बी’ टिममा थिए । यस सिजनदेखि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले उनलाई सिनियर टिममा मौका दिन थालेका हुन् ।

फातीले ला लिग र च्याम्पियन्स लिग दुवैमा डेब्यु गरिसकेका छन् । उनले ला गिामा ५ खेलबाट २ गोल गर्दै १ गोलका लागि असिस्ट गरेका छन् भने च्याम्पियन्स लिगमा १ खेल खेलिसकेका छन् ।

अब फाती अक्टोबर २६ बाट नोभेम्बर २७ सम्म ब्राजिलमा हुने यु–१७ पिफा विश्वकप फुटबल खेल्ने स्पेनको टोलीमा पर्ने बाटो खुलेको छ । फातीले अहिले जुनियर टोलीबाट खेले निकट भविष्यमै उनले सिनियर टिमबाट समेत खेल्न पाउनेछन् ।

प्रकाशित मिति २३ आश्विन २०७६, बिहीबार २१:०२
Loading...