जर्मनीले २ गोलको अग्रता जोगाउन सकेन : रोमाञ्चक खेलमा अर्जेन्टिनाले रोक्यो

काठमाडौं, असोज २३
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा विश्व फुटबलको महाशक्ति राष्ट्र जर्मनीले २–० को अग्रता जोगाउन नसक्दा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनासँग बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार शुक्रबार बिहान आफ्नो भूमिमा भएको खेलको पहिलो हाफमा जर्मनीले २–० को सहज अग्रता लिए पनि अर्जेन्टिनाले दोस्रो हाफमा त्यसलाई उल्टाएर २–२ को बराबरीमा रोक्न सफल भयो ।

पहिलो हाफमा आक्रामक देखिएको जर्मनीका लागि पहिलो गोल खेलको १५औं मिनेटमा सेर्गे ज्नाब्रीले गरेका थिए । त्यसको ७ मिनेटपछि नै जर्मनीले द्रुत आक्रमण बुनेर दोस्रो गोल हान्यो । सो गोल काई हार्भट्जले गरेका थिए । सो गोलपछि जर्मनीले खेलमा प्रभाव बढायो । र, पहिलो हाफमा २–० को अग्रता पनि बनायो ।

तर, दोस्रो हाफमा पाहुना टोली अर्जेन्टिनाले सम्हालिएर उत्कृष्ट खेल खेल्यो । उसले घरेलु टोलीविरुद्ध शानदार कमब्याक समेत गर्न सफल भयो । अर्जेन्टिनाका लागि खेलको ६६औं मिनेटमा लुका अलारियोले शानदार हेडिङ गोल गरेर गोलअन्तर २–१ मा झारेका थिए ।

त्यसपछि बराबरी गोलको खोजीमा रहेको अर्जेन्टिनाका लागि खेलको ८५औं मिनेटसमा बक्सभित्र लुका ओकाम्पोसले पाएको कठिन बलमा जर्मन डिफेन्डरका बीचबाट कडा सट हानेकोमा बलले सोझै जाली चुमेपछि अर्जेन्टिनाको कमब्याक सफल भयो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल २–२ मा टुंगियो ।

सन् २०१४ ब्राजिलमा भएको फिफा विश्वकप फुटबलमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा १–० ले हराएर उपाधि जितेको थियो । त्यसपछि सोही वर्ष भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले २–४ ले बाजी मारेको थियो । त्यसको ४ वर्षपछि भएको यस खेलमा दुवै टोली जितविहीन बने ।

प्रकाशित मिति २३ आश्विन २०७६, बिहीबार ०२:२६
Loading...