मार्सेलो चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किए

एजेन्सी, असोज २२
स्पेनिस क्लब रियल मड्रिडका लेफ्ट ब्याक मार्सेलो प्रशिक्षणमा फर्किएका छन् । ब्राजिलियन स्टार आजबाट समूहसँगै प्रशिक्षणमा फर्किएका हुन् । गत शनिबार रियलले ला लिगामा ग्रानाडाविरुद्ध खेल्नुअघि चोट बोकेका उनी करिब १० दिनपछि प्रशिक्षणमा फर्किएका हुन् ।

रियलले आफ्नो घरमा ग्रानाडाविरुद्ध खेल्दा टोलीका ३ जनै लेफ्ट ब्याक चोटग्रस्त थिए । मार्सेलो प्रशिक्षणक्रममा घाइते हुनुअघि नै फोर्लान् मेन्डी र नाचो घाइते भएको अवस्थामा मार्सेलोसमेत थपिएपछि रियलले ग्रानाडाविरुद्ध लेफ्ट ब्याकबिनै खेलेको थियो ।

अन्य खेलाडी अन्तर्राष्ट्रिय ड्युटीमा व्यस्त रहेका बेला मार्सेलोले भने टोलीमा प्रशिक्षण थालेका हुन् । रियलले आगामी खेल ला लिगामा अक्टोबर १९ मा मालोर्सासँग अवे मैदानमा खेल्दैछ । मार्सेलो सो खेलमा टोलीमा हुनेछन् ।

मार्सेलो यो सिजन कमजोर लयमा देखिएका छन् । उनी यो सिजन मात्रै दुईपटक घाइते भइसकेका छन् । रियल यो सिजनको सुरुआतबाटै लगातार चोटले पिरोलिँदै आएको छ ।

प्रकाशित मिति २२ आश्विन २०७६, बुधबार २१:३४
Loading...