डेम्बेलेमाथि लाग्यो दुई खेलको प्रतिबन्ध : इएल क्लासिको गुमाउने

काठमाडौं, असोज २२
स्पेनिस बार्सिलोनाका फ्रेन्च विंगर उसामान डेम्बेलेमाथि दुई खेलको प्रतिबन्ध लागेको छ । आज ला लिगाले युवा खेलाडीमाथि २ दुई खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गत शनिबार ला लिगामा सेभिल्लाविरुद्ध भएको खेलमा डेम्बेले खेलको ८८औं मिनेटमा रातो कार्ड पाएर मैदान छाडेका थिए । त्यसको एक मिनेटअघि रोनाल्डो अराउजोले दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड पाएपछि सो विषयमा रेफ्रीसँग विवादमा उत्रिएका डेम्बेलेलाई रेफ्रीले दोस्रो पहेंलो कार्डका साथ रातो कार्ड दिएका थिए ।

तर, खेलपछि रेफ्रीले आफ्नो खेल रिपोर्टमा भने डेम्बेलेले रेफ्रीको निर्णयको मजाक उडाएको भन्दै आफूले सोझै रातो कार्ड दिएको प्रतिवेदन बुझाएका थिए । जसमा ला लिगाले डेम्बेलेलाई दोषी ठहर गर्दै दुई खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यससँगै डेम्बेलेले अक्टोर १९ मा एइबार र अक्टोबर २६ मा रियल मड्रिडसँग हुने खेल गुमाउने पक्का भएको छ । यता, बार्सिलेनाले भने आफ्ना खेलाडीमाथि लागेको दुई खेलको प्रतिबन्ध फुकुवा गर्न ला लिगासमक्ष अपिल फाइल दर्ता गरेको छ । स्पेनिस मिडियाका अनुसार ला लिगाले फैसला गरेको केही घन्टामै बार्सिलोनाले सो अपिल दर्ता गराएको हो ।

प्रकाशित मिति २२ आश्विन २०७६, बुधबार २०:४५
Loading...