पहिलो खेलमै भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं, असोज २२
महिला साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतसँग नमिठो हार भोगेको छ । भुटानमा जारी प्रतियोगितामा नेपाल चीर प्रतिस्पर्धी भारतसँग ४–१ ले पराजित भयो । पहिलो खेलमै नेपालले फराकिलो हार भोगेपछि प्रतियोगितामा कमजोर सुरुआत भएको छ ।

नेपालमाथि हाबी भएको खेलमा भारतले पहिलो हाफमा २–० को सहज अग्रता लिएको थियो । भारतका लागि खेल सुरु भएको सातौं मिनेटमै सुमिता कुर्माले पहिलो गोल गरिन् भने ३८औं मिनेटमा लेन्डा कोम सेर्तोले दोस्रो गोल थपिन् ।

त्यसपछि दोस्रो हाफमा नेपालले २ गोल खायो भने आफूले १ गोल फर्कायो । भारतका लागि खेलको ५५औं मिनेटमा प्रियंका सुजेश पोटेकाले गोल गरिन् । त्यसपछि ६२औं मिनेटमा नेपालका लागि मनमाया धामीले गोल गरेर खेल ३–१ बनाइन् । तर, लेन्डा कोम सेर्तोले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर नेपालविरुद्ध अग्रता बढाइन् । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल भारतले ४–१ ले जितयो ।

अब नेपालले दोस्रो खेल शुक्रबार बंगलादेशसँग खेल्नेछ । त्यसपछि तेस्रो खेल आयोजक देश भुटासाग असोज २६ मा हुनेछ ।

प्रकाशित मिति २२ आश्विन २०७६, बुधबार १९:०७
Loading...