मेस्सीको खुलासा– ‘एकबेला म स्पेन छाड्ने निर्णयको धेरै नजिक पुगेको थिएँ’

एजेन्सी, असोज २२
स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले हालै ताजा अन्तर्वार्तामा यो खुलासा गरेका छन् कि, उनी कुनैबेला बार्सिलोना छाड्ने निर्णयको धेरै नजिक पुगेका थिए । मेस्सीले विविध कारणले आफूले सन् २०१३ र २०१४ मा बार्सिलोना छाड्नेबारे निकै गम्भीर ढंगले सोचेको खुलाएका छन् ।

‘धेरैपटक यस्तो अवस्था आयो, सायद दुईपटक भन्दा बढी । खास गरी २०१३ र २०१४ मा यहाँको व्यवस्थाका कारण मैले समस्या भोगें । त्यही बेला म चोटको मारमा परें । तर, चोटभन्दा ठूलो कुरा अर्को थियो । चोट त सामान्य कुरा भइहाल्यो,’ मेस्सीले भनेका छन् ।

उनले अघि थपेका छन्, ‘नढाँटी भन्दा त्यसबेला मलाई दुव्र्यवहार भएको अनुभूत भयो । यस्ता समस्याले म निराश थिएँ । त्यही भएर मैले छाड्ने निर्णय गरेको थिएँ । तर, त्यो बार्सिलोना छाड्ने कुरा थिएन, स्पेन छाड्ने कुरा थियो । यो कुरा बाहिर नआएको पनि होइन ।’

सन् २०१३ र २०१४ मा मेस्सीविरुद्ध स्पेनमा कर छलीको ठूलो मुद्दा चलेको थिए । जसमा उनी दोषी ठहर भएर जरिमानासमेत तिरेका थिए । उनले त्यसबेला साढे लाख युरो रकम (नेपाली करिब ३ करोडभन्दा बढी) जरिमाना तरेका थिए । जसका कारण मेस्सीले आफू धेरै समस्यामा परेको र परिवारसमेत अपमानित अनुभूत गरेको बताए ।

‘त्यसबेला म मात्रै नभएर मेरो परिवार नै कठिन अवस्थामा थियो । सबै निराश थिएँ । त्यसबाट म र परिवारमा दबाब थियो । हामी स्पेन छाड्ने निर्णयको धेरै नजिक पुगेर पनि पछि हटेका थियौं,’ मेस्सीले भने ।

मेस्सीले बार्सिलोनासँग आफ्ना लागि कुनै पनि क्लबको औपचारिक प्रस्ताव नआएको तर थुप्रै क्लबले आफूलाई चाहेको पनि बताए । ‘थुप्रै क्लबले मेरा लागि ढोका खुला गरेका थिए । तर, मैले बार्सिलोना छाड्नुपर्ने कारण थिएन । किनभने, मलाई यहाँ राम्रो छ भन्ने सबैलाई थाहा थियो,’ मेस्सीले भनेका छन् ।

मेस्सीले यो पनि बताएका छन् कि, उनले अब बार्सिलोनाबाटै खेल जीवन टुंगाउन चाहेका छन् । ‘भविष्यमा के हुन्छ थाहा छैन । तर, अहिलेको घडीमा बार्सिलोनाबाटै करिअर बिसाउनु मेरो सोच हो,’ मेस्सीले थपे ।

प्रकाशित मिति २२ आश्विन २०७६, बुधबार १८:४५
Loading...